आजदेखि गोरखामा होटल, मदिरा तथा सुर्तीजन्यबाहेकका सबै पसल खुल्ने

गोर्खा परिचय
२०७७ जेष्ठ २७ गते, मंगलवार

लामो समयको लकडाउनका कारण कष्टकर भएको जनजीवनलाई सहज बनाउन गोरखाका बिभिन्न पसलहरु खुलाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुलो गर्दै जनजीवनलाई सहज तुल्याउन पसलहरु खुलाउने निर्णय गरेको हो । नेपाल सरकारबाट जारी आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज, रेष्टुरेण्टबाहेकका पसल खुलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।

‘लकडाउनको ७६ औ दिनपुग्दा अम जनजीवन अति प्रभावित भएको गुनासो आएकाले नेपाल सरकारको आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज तथा रेष्टुरेण्टबाहेकका पसलहरु खुलाउने निर्णय भएको छ’, उनले भने, ‘उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श तथा अन्य व्यवसायिक संघसंस्थासंग समन्वय गरी स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरी खरिद, बिक्री गर्न सक्ने व्यवबस्था मिलाउने निर्णय भएको छ ।’

बन्दाबन्दीका कारण काठमाडौंलगायत बिभिन्न ठाउँमा अलपत्र परेका तथा गोरखामा अलपत्र परेकाहरुलाई सम्बन्धित ठाउँमा जाने आउने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि भएको उनले बताए ।