लिम्चुङबुङमा इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास

२०७७ मंसिर २० गते, शनिबार

जाँते, मंसिर २०

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास भएको छ । भवन सिल्यान्यास जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम वहादुर दाहालले गरेका थिए ।

भवन १ करोड ७१ लाखको लागतमा निर्माण सम्पन्न हुने जनाएको छ । भवन गाइघाटको भुश्राम्छा कन्स्ट्रक्सनले निर्माण गर्ने भएको छ । लिम्चुङबुङमा इलाका कार्यालय भएपनि भाडाको घरमा रहेको अवस्थामा अब आफ्नै प्रहरी भवन हुने एसपी दाहालले बताउनुभयो । अब बन्ने भवनले फिल्डमा खटिने प्रहरीलाई सहज हुने बताउँदै निर्माण कार्यलाई तत्काल र तिब्र बनाउने बताउनुभयो ।

भवन बन्ने भएपछि प्रहरीहरुलाई जनताको सुरक्षामा खटिन सहज वातावरण हुने दाहालले बताउनुभयो । गाउँपालिकाको अध्यक्ष मेजर कुमार राईले प्रहरी भवन बन्ने भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले भवन बने सँगै जनताहरुको जिउधन सुरक्षामा प्रहरीलाई सरल हुने बताउनुभयो । उहाँले भवन बनेपछि दरबन्दी अनुसार जनशक्ति खटिने अपेक्षा समेत गर्नुभयो ।