स्वास्थ्यमन्त्रीका सामुन्ने कोशीका डाक्टरले भने –‘क्यान्सरको उपचारमा जनशक्ति र उपकरणको अभाव छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १४, शुक्रबार १३:४२

विराटनगर । कोशी अस्पतालका डाक्टर रगिन कठेतले अस्पतालमा क्यान्सरको उपचारका लागि जनशक्ति र उपकरणको अभाव रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका सामुन्ने बिहीबार उनले क्यान्सर रोगको सेवा सुरु भएको १० वर्ष पुग्दापनि जनशक्ति र उपकरणको अभाव झेल्नु परिरहेको उल्लेख गरेका हुन् । उनले अभावकै कारण विशेषज्ञ सेवा सुरु गर्न नसकिएको गुनासो पोखे । डा. कठेत अस्पतालका क्यान्सर रोग विशेषज्ञ हुन्

उनले अस्पतालको समस्या बताइरहँदा मन्त्री पौडेल र स्वास्थ्य सचिव डा. रोशन पोखरेललगायत उपस्थित थिए । ‘हाम्रा बिरामी उपचारका लागि भक्तपुर, भरतपुर र काठमाडौं जान भनेर भौतारिन नपरोस् । त्यहाँका अस्पतालजस्तै मेसिन र उपकरण राखेर सेवा सुरु गर्न पाइयोस् । बिरामीले प्रभावकारी उपचार पाउन्,’ डा. कठेतले भने ।

स्वास्थ्य सेवामा आफूहरु दिनरात खटिरहँदा चित्त पनि दुखेको गुनासो उनले गरे । ‘कोरोना संक्रमणकालमा धेरैले ‘इन्स्योरेन्स’बाट रकम पाएको सुनियो । तर, हाम्रो भने हरायो । खोजिदिनु पर्यो,’ कठेतले भने, ‘कोरोना बिमाको पैसा पाउनुपर्ने थियो । तर, पाउन सकिएन । अरुले पाउँदा हामीले पाएनौं ।’

क्यान्सर पीडितको उपचारमा कोशी प्रदेश सरकारले प्रतिबिरामी १ लाख रूपैयाँ सहयोग गर्दै आएको छ । तर, पछिल्लो समय बिरामीले त्यो रकम पाउन छाडेका छन् । २०८० फागुनसम्म ४ हजार क्यान्सरपीडितको फारम अड्केको जानकारी उनले दिए ।

‘क्यान्सरपीडितलाई सरकारले १ लाख दिने घोषणा गरेबमोजिम ४ हजार बिरामीको ४० करोड हुन आउँछ । फागुन पछाडि फारम लिन नै बन्द गर्नु भएछ,’ डा. कठेत भन्छन्, ‘यस विषयमा कसरी अगाडि बढ्न सकिन्छ ? बिरामीलाई कसरी राहत दिन सकिन्छ भनेर सोची दिनुपर्यो ।’ चितवनबाट पूर्व झन्डै ५ सय कलोमिटर तत्कालीन मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलको प्रमुख उपचार केन्द्र कोशी अस्पताल रहेको उनले बताए ।

‘कोशी अस्पताल आजसम्म विशेषज्ञ क्यान्सर सेवाका लागि कसैको आँखामा परेको छैन । मलाई आशा छ, निकट भविष्यमा नै कोशी प्रदेशमा पनि क्यान्सर रोगको उपचारका लागि भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा जस्तै मेसिन र उपकरण पाउने छौं । आगामी दिनमा बिरामीको सम्पूर्ण सेवा कोशी अस्पतालबाट दिन सक्ने छौं । यो हाम्रो सपना हो,’ उनी भन्छन् ।

कठेतका अनुसार कोशीको मेडिसिन विभागको कोठाको कुनामा १ टेबल र २ वटा कुर्सी राखेर २०७२ साल कात्तिकबाट क्यान्सर रोगको उपचार सेवा सुरु गरिएको हो । त्यतिबेला अहिलेका स्वास्थ्य सचिव डा. रोशन पोखरेल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए । डा. पोखरेल र मेडिकल विभागका प्रमुख डा. दीपक सिग्देलको सहयोग र मार्गदर्शनमा क्यान्सर रोगको उपचार सुरु गरिएको स्मरण कठेतले गरेका छन् ।

क्यान्सरको उपचारमा निक्कै कुराको कमी रहेको बताउँदै उनले भने, ‘भोलिका दिनमा विशिष्टीकृत सेवा प्रवाहका लागि आजैबाट सोचेनौं भने धेरै ढिला हुने छ । त्यसै पनि हामी निक्कै ढिला भइसक्यौं । तत्काल मेसिन र उपकरण जडान गरी व्यवस्थित र विशिष्टीकृत सेवा प्रवाह गर्नुपर्छ,’ उनी भन्छन् ।

अहिल्यै प्रण गर्दा पनि सेवालाई प्रभावकारी बनाउन ४/५ वर्ष लाग्ने डा. कठेतको भनाइ छ । सेवा प्रवाहमा धेरै ढिलाइ गर्न नहुने उनले बताए । उनका अनुसार कोशी अस्पतालमा अहिले क्यान्सरको उपचारका लागि दैनिक ओपीडी, इन्डोर, डे–केयर केमोथेरापीसहित ५ वटा बेड सञ्चालनमा छन् ।

‘अस्पतालमा ब्रेस्टको सर्जरी, पेट तथा आन्द्राको सर्जरी, मृगौला तथा प्रोस्टेटको सर्जरी, छालाको क्यान्सर सर्जरी सेवा सञ्चालनमा छन्,’ डा. कठेतले भने, ‘नाक, कान तथा घाँटी एवं गाइनोको सर्जरी छैन ।’ बच्चाको क्यान्सर रोगको विशेषज्ञ नभएकाले समस्या रहेको सुनाउँदै उनले ‘इन्टरभेन्सन रेडियोलोजी’ सेवा नहुँदा धेरै कठिनाइ भोग्नु परिरहेको बताए ।

clockप्रकाशित मिति:  २०८१ भाद्र १४, शुक्रबार १३:४२
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.