विराटनगर । कोशी प्रदेशमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले प्रदेश निजामती ऐन सच्याउन माग गरेका छन् ।
उनीहरुले कोशी प्रदेशसभामा पेस गरिएको प्रदेश निजामती सेवा ऐन, २०७६ संशोधन विधेयकले स्वास्थ्य क्षेत्रका कर्मचारीको वृत्तिविकास रोकिने भन्दै संशोधनको माग गरेका हुन् । खासगरी ११ औं तहमा बढुवा हुनुपर्ने कर्मचारीको विषय नसमेटिएको भन्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले वृत्तिविकास सुनिश्चित गर्न माग गरेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले संशोधन गर्न ल्याइएको ऐनमा समेत मौजुदा १० औं तहको कर्मचारीको वृत्तिविकास के हुने भन्ने उल्लेख नभएको बताए । विराटनगरमा आइतबार अन्तरसंवाद कार्यक्रममा सहभागी प्रसाईंले १० औं तहका कर्मचारीले आफूहरूको बढुवा सुनिश्चित हुने गरी ऐन संशोधन गर्नुपर्ने माग गरे ।
अहिले कोशी प्रदेशका प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य प्रयोगशालमा ११ औं तहको दरबन्दी कायम छ । तर, ती कार्यालयमा उक्त तहका कर्मचारीको पदपूर्ति हुन सकेको छैन ।
सोही तहको प्रमुख हुने कोशीका ८ कार्यालयको दरबन्दी यसअघि हटाइएको थियो । यही अवस्थामा संशोधन विधेयक पारित भयो भने आफूहरु १० औं तहबाटै ‘रिटायर्ड’ हुनुपर्ने प्रसाईंको भनाइ छ । कोशीमा १० औं तहका ४ जना कर्मचारी छन् ।
स्वास्थ्य मन्त्रालय कोशीका प्रवक्ता डा. सुरेश मेहताले यसबारे सरकारको ध्यानाकर्षण गराउने बताए । प्रदेशसभा बैठकमा छलफलमा रहेको विधेयकमाथि ७२ घण्टे संशोधन अवधि तोकिएको छ ।