जबरजस्ती करणी मुद्दाका आरोपी अस्पतालबाट फरार

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र ३०, आइतबार ११:५८

झापा । जिल्ला कारागार झापाका एक जना कैदीबन्दी उपचारका क्रममा अस्पतालबाट फरार भएका छन् ।

झापाको भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह अस्पतालबाट आज बिहान पौने ४ बजेतिर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साह जबरजस्ती करणीको आरोप मुद्दामा पुर्पक्षका लागि भदौ ५ गते कारागार चलान भएका थिए ।

निमोनिया भएपछि भदौ २५ गते बिहान भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिए पनि त्यहाँबाट थप उपचारका लागि भद्रपुरै ओमसाइ पाथीभरा अस्पतालमा रेफर गरी उपचार गराइ रहेका थिए ।

ओमसाइको दोस्रो तलको २ नम्बर क्याबिनमा उपचारका लागि साह बसेका थिए । आज बिहान साह सहजै अस्पतालको कोठाबाट बाहिरिँदै स्कुटरमा आफ्नी श्रीमतीलाई पछाडि राखेर फरार भएको अस्पतालको सिसी क्यामेराको फुटजबाट प्रष्ट देखिएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको सुरक्षाका लागि अस्पतालमा सहायक हवल्दार र प्रहरी जवान प्रहरी खटाइएको थियो । डिउटीमा रहेका प्रहरीसँग अस्पतालमा उपचार गराइरहेका अन्य वार्डका बिरामी कुरुवासँग झगडा भइरहेको मौका छोपी साह फरार भएका थिए ।

उपचारका क्रममा साहलाई हतकडी नलगाइएको हुँदा सहजै फरार भएका हुन् ।

त्यहाँ सुरक्षामा खटिएका एक जना प्रहरी मादक पदार्थ सेवन गरेर एक नम्बर क्याबिन ढकढकाएपछि विवाद सुरु भएको थियो । त्यही मौकामा फरार भएको बताइएको छ ।
साह १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका कारागारमा थिए ।

फरार भएका साहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

clockप्रकाशित मिति:  २०८१ भाद्र ३०, आइतबार ११:५८
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.