
विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण सम्पन्न भएको छ ।
रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा दश दिन भएको महोत्सवमा आयोजक र ९ विद्यालयका १–१ गरी १० वटा नाटक मञ्चन भएका थिए ।
महोत्सवमा सहभागी भएकामध्ये पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रुपियाँ’ले उत्कृष्ट नाटकको अवार्ड पायो ।
रंगकर्मीद्वय उद्धव सापकोटा र दीपा पोखरेलको निर्णायक टिमले आदर्श माध्यमिक विद्यालयको नाटक ‘भविष्य निर्माण’का निर्देशक प्रनिशा रेग्मीलाई उत्कृष्ट निर्देशक घोषित गर्यो ।
यस्तै पूर्वाञ्चल स्कुलकै नाटकमा अभिनय गर्ने सुदेश चौधरी उत्कृष्ट अभिनेता र ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलको नाटक ‘बुद्धिमानी आमा’मा अभनिय गर्ने सिमरन सुवेदी उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

अवार्ड विजेताहरुलाई मोरङ प्याब्सनका अध्यक्ष प्रेमराज सिंह सुवाल, गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीलगायतले सम्मान र प्रमाणपत्र प्रदान गरे ।
महोत्सव भदौ २२ गते आयोजक गुरुकुलको ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै सुरु भएको थियो । त्यसपछि क्रमशः ग्रेडेड स्कुलले ‘बुद्धिमानी आमा’, दिल्ली पब्लिक स्कुलले ‘छिमेकी’, आदर्श स्कुलले ‘भविष्य निर्माण’, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले ‘रङ’, पूर्वाञ्चल स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गरे ।
यस्तै नमुना विद्या मन्दिरले ‘जिम्मेवारी कसको ?’, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले ‘स्मार्ट बन्द’, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’, श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गरे ।
विद्यार्थीलाई रङ्गमञ्चसँग जोड्ने हेतुले गुरुकुलले हरेक वर्ष विद्यालय नाटक महोत्सव गर्दै आएको छ ।

























