विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–६ औलानपुरमा जंगली च्याउ खाँदा २ नाबालिकासहित ४ जना बिरामी परेका छन् ।
विषालु च्याउ खाँदा बिरामी परेकाहरुलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको छ । मंगलबार राति च्याउको तरकारी बनाएर खाएकाहरुमा वान्ता हुने, छात्ती दुख्नेलगायतका समस्या देखा परेको थियो ।
च्याउ खाँदा बूढीगंगा–६ का २९ वर्षीय इन्द्रकुमार लिम्बू, उनका ८ र ७ वर्षका छोरीहरु तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी परेकामध्ये इन्द्रकुमारको अवस्था मध्यम छ । अरुको सामान्य छ ।
घरमा पकाएको च्याउ खाएको भएपनि इन्द्रकुमारकी पत्नी भने बिरामी परेकी छैनन् । सीताको स्वास्थ्यमा भने बुधबार बिहानबाट मात्रै समस्या देखिएको थियो ।