गर्भपतनमा समस्यै समस्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ९, बुधबार १९:२९

विराटनगर । नेपालमा सुरक्षित गर्भपतनका लागि धेरै समस्या रहेको सरोकारवालाहरूले बताएका छन् ।स्वास्थ्य लाइभ मिडियाले  विराटनगरमा आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सुरक्षित गर्भपतनका लागि सामाजिक समस्या धेरै रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहले गर्भपतन सेवालाई २०५९ सालमा कानुनी मान्यता दिइएको बताए । उनले भने सुरक्षित गर्भपतन सम्बन्धी तालिम र सेवाको सुरुवात २०६१ सालबाट भएको र  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ आएपनि गर्भपतन गर्ने मध्ये अधिकांश ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको उनको भनाई छ । जसले गर्दा महिलाहरूमा स्वास्थ्यमा समस्या आउने र आफूले चाहेको बेलामा बच्चा नबस्ने जस्ता समस्या देखिने गरेको साह बताउँछन् । 

समाजमा गर्भपतन सम्बन्धी सामाजिक लाञ्छना र भेदभाव कायम रहेकाले महिलाहरूले लुकिछिपी गर्भपतन गराउनेको सङ्ख्यामा कमी नआएको नीति योजना तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताको भनाई छ । गर्भपतन सेवा सीमित स्वास्थ्य संस्थामा मात्र उपलब्ध भएको तथा सूचिकृत स्वास्थ्य संस्थामा पनि सेवा नियमित नहुनु, सुरक्षित गर्भपतन सेवा स्वास्थ्यको प्राथमिकतामा नपर्नु गर्भपतन सेवाका चुनौतीका रुपमा रहको  विज्ञको भनाई छ ।

नेपालमा बर्सेनी ३ लाख ३३ हजार ३ सय ४३ जनाले गर्भपतन गराउने गरेको तथ्याङ्क छ । जसमध्ये कोशी प्रदेशमा बर्सेनी ५७ हजार ७ सय ६१ जनाले गर्भपतन गराएका छन् । त्यसमध्ये २९ हजार ४ सय २३ जनाले सूचिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन् भने २५ हजार ४ सय ४९ जनाले स्वास्थ्य संस्था बाहिर गएर गर्भपतन गरेका हुन् । यसैगरी २ हजार ८ सय ८८ जनाले अन्य तरिकाबाट गर्भपतन गराएका छन् ।

असुरक्षित गर्भपतन रोक्न स्वास्थ्य निर्देशनालयको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दे स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशका ज्ञानबहादुर बस्नेतले कोशी प्रदेशमा २० वर्षभन्दा मुनिका किशोरीहरूले आर्थिक वर्ष २०८०/०८१ मा ९ सय ३९ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । यसैगरी आर्थिक बर्ष २०७९/०८० मा ८ सय १९ र ०७८/०७९ मा ७ सय २७ जनाले गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गर्दे  उनले निर्देशनालयले विभिन्न स्थानमा सुरक्षित गर्भपतन सेवा बिस्तार गरेको र असुरक्षित गर्भपतन सेवालाई न्यूनीकरण गर्न जनचेतनामूलक सूचना प्रवाह गरी नागरिकहरूलाई सचेत बनाउने काम गरिरहेको बताए ।

असुरक्षित गर्भपतन र जथाभावी औषधिको दुरुपयोग रोक्न प्रदेश सरकारको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दे कोशी प्रदेश सर्वसुलभ रुपमा जनताले कसरी सुरक्षित सेवा पाउँछन् भन्ने हिसाबले काम गरिरहेको बताए । उनले भनिन् ‘ग्रामीण भेगका महिला जसलाई गर्भपतन सेवा आवश्यक छ  ।’

उनले सेवा बिस्तार गरी ग्रामीण भेगका जिल्ला अस्पतालहरूमा यो सेवा सुरक्षित रुपमा कसरी पुगाउने भन्नेमा निर्देशनालय र मन्त्रालय मिलेर काम गरिरहेको बताइन् ।  गर्भपतन सेवालाई नेपाल सरकारले कानुनी मान्यता दिएपनि कतिपय महिलाहरुलाई कानुनी ज्ञानको कमी भएर थाहा नभएकाले जनचेतनामूलक कार्यक्रम पनि गरिरहको उनले प्रष्ट पारीन् ।  गर्भपतन  सेवा बिस्तारका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर ग्रामीण क्षेत्रमा सेवा बिस्तार गर्दे लगेको उनको भनाई छ । कार्यक्रम स्वास्थ्य लाइभ मिडियाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

clockप्रकाशित मिति:  २०८१ आश्विन ९, बुधबार १९:२९
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.