विराटनगर । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद अस्पताललाई मंगलबार विराटनगरमा सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८० / ०८१ को प्रदेश स्तरीय ३ दिने एकीकृत वार्षिक समीक्षा गोष्ठी अवसरमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद अस्पतालहरुलाई सम्मान गरिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेको मापदण्डका आधारमा स्वास्थ्य कार्यालयहरुमा इलाम प्रथम भएको छ । इलाम स्वास्थ्य कार्यालयले ७६.६४ अंक प्राप्त गरेको छ ।
धनकुटाले ७३.९१ र उदयपुरले ७१.७९ अंक ल्याएर क्रमश दोस्रो र तेस्रो भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
यस्तै, जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । उसले ८२.३१ अंक प्राप्त गरेको छ । ७८.७० अंक प्राप्त गरी तेह्रथुम दोस्रो र ७६.१२ अंक प्राप्त गरी उदयपुर तेस्रो भएको छ ।
आयुर्वेद अस्पतालअन्तर्गत ८०.७३ ल्याएर उदयपुर प्रथम भएको छ । धनकुटाले ७६.३९ दोस्रो र खोटाङले ७३.२६ ल्याएर तेस्रो भयो ।
एकीकृत वार्षिक समीक्षा गोष्ठीमा कोशी प्रदेशका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद अस्पतालहरुको प्रस्तुतीकरण गर्दै प्रगति समीक्षा गरिएको थियो ।
३ दिने समीक्षा गोष्ठीमा आएका सुझावका आधारमा आगामी दिनमा कार्यक्रमहरु सुधार गरेर लैजाने प्रदेश निर्देशक बस्नेतले बताए ।
समीक्षा कार्यक्रममा मेची प्रादेशिक अस्पताल, कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, युएन एजेन्सी, एआईएन, अफिन, प्रदेश बीमा कार्यालयको पनि प्रगति प्रस्तुतीकरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मुकुन्द दाहालले जानकारी दिए ।