विराटनगर । काठमाडौंस्थित इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांक अनुसार देशभर १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् ।
इडीसीडीले सार्वजनिक गरेको तथ्यांकका आधारमा देशभर डेंगुबाट १९ हजार ५ सय ९९ जना संक्रमित भएका हुन् भने अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।
कोशी प्रदेशमा २ हजार ३ सय ९२ जना डेंगुबाट संक्रमित भएका छन् भने हालसम्म झापामा २ र मोरङमा १ गरी ३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
कोशी प्रदेशको मोरङमा ८ सय १७ जना, झापामा ४ सय २३ जना, सुनसरीमा ३ सय ९४ जना, धनकुटामा १ सय ८८, भोजपुरमा १ सय ६१ जना, संखुवासभामा १ सय ८ जना, उदयपुरमा ८९ जना, ओखलढुंगामा ८२ जना भएका हुन् ।
त्यस्तै, पाँचथरमा ७० जना, सोलुखुम्बुमा ३१ जना, इलाममा १७, खोटाङमा १० र तेह्रथुममा २ जना संक्रमित भएका हुन् । ताप्लेजुङमा हालसम्म डेंगु संक्रमित नभेटिएकाे निर्देशनालयले जनाएकाे छ ।
पछिल्लो समय डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको महाशाखाले जनाएको छ । काठमाडौंमा मात्रै डेंगुबाट ३ हजार १ सय ३ जना प्रभावित भइसकेका छन् ।
त्यसैगरी, कास्कीमा २ हजार ८ सय ४७ जनामा, तनहुँमा २ हजार १ सय ७ जनामा, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
पोस्ट मनसुन सुरु हुँदा डेंगुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैं लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन् । समुदायमा डेंगु फैलिएको देखिएकाे महाशाखाले जनाएकाे छ ।
डेंगु संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । झूलको प्रयोग गर्ने, घरवरिपरी सरसफाइ गर्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, फूलको गमलामा पानी जम्न नदिने, भाडा वा कुनै वस्तुमा पानी धेरै दिन खुला नराख्ने, भाडाहरुमा पानी राख्न परे राम्रोसँग छोप्ने जस्ता सावाधनी अपनाए डेंगु संक्रमणबाट बच्न सकिने र ज्वरो आए तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले जनाएको छ ।