विराटनगर । रुस र युक्रेनबीच युद्ध चलिरहेका बेला उत्तर कोरियाले रुसलाई सैन्य सहयोग गरेको छ । युक्रेनलाई अमेरिकासहित नेटोमा आवद्ध मुलुकको सहयाेग छ ।उत्तर कोरियाले रुसलाई खुलेर सैन्य सहयोग गरेको हो ।
युक्रेनविरुद्ध अग्रपंक्तिमा हजारौं सैनिक तैनाथ गर्ने उत्तर कोरियाको तयारी छ । उत्तर कोरियाको यो तयारीले दुई देशको सैन्य सम्बन्धलाई थप बलियो बनाउने विज्ञहरूले बताएका छन् ।
एएफपीका अनुसार १ हजार ५ सय बढी उत्तर कोरियाली विशेष बलका सैनिक रूसमा पुगिसकेका छन् । रुस पुगेका सैनिक छिट्टै अग्रपङ्क्तिमा खटिने सम्भावना छ । दक्षिण कोरियाली जासूसी एजेन्सीका अनुसार उत्तर कोरियाले हजारौं थप सेना पठाउने तयारी गरेको छ ।
उत्तर कोरियाको यो कदमले दक्षिण काेरियासँगकाे सम्बन्ध झन चिसिएको छ । सन् १९०५० देखि १९५३ सम्म चलेको युद्ध साम्य भएपनि यी दुई देशको सम्बन्ध सुधारिएको छैन । दक्षिणसँगकाे युद्धविरामपछि उत्तर कोरियाले आफूलाई आणविक हतियारमा बलियो बनाएको छ । दक्षिण कोरिया भने अमेरिकी आणविक छाता संगठनसँग जोडिएको छ । जसले गर्दा दक्षिण कोरिया र अमेरिकाले नियमित रूपमा संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । दुई देशको सैन्य अभ्यासलाई उत्तर कोरियाले रुचाएको छैन ।
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा सैन्य सम्झौता गरेका थिए । सोही सम्झौताका आधारमा उत्तर कोरियाले रुसमा सेना पठाएको हो ।
‘यसले एउटा सन्देश दिएको छ, भोलि उत्तर कोरियाले आक्रमण गरेमा वा संकटको सामना गरे रूसको हस्तक्षेप वा सैन्य समर्थन स्वतः गर्नेछ,’ कोरिया इन्स्टिच्युट फर नेसनल एकीकरणका वरिष्ठ विश्लेषक होङ मिनले एएफपीलाई भनेका छन् ।
युक्रेनले सरकारी संस्था सेन्टर फर स्ट्र्याटेजिक कम्युनिकेसनले शुक्रबार सार्वजनिक गरेको भिडियोमा उत्तर कोरियाली सैनिकहरूलाई युक्रेनविरुद्ध युद्ध लड्ने तयारीमा रहेको आशंका गरिएको छ । सार्वजनिक फुटेजमा एक सैनिकले उत्तर कोरियाली भाषामा आफ्ना सहकर्मीहरूलाई ‘मुभ अन’ भनेका छन् ।
अर्थव्यवस्थामा उत्तरको साथ
युक्रेनसँग युद्धमा रहेको रूसमा सैन्य र श्रमिक जनशक्तिको अभाव छ । उत्तर कोरियाले रुसको दुबै समस्यालाई समाधान गर्न सहयोग गर्ने विश्लेषण गरिएको छ ।
‘रुसका लागि, उत्तर कोरियाली तैनाथीको फाइदा स्पष्ट छ, ओस्लो विश्वविद्यालयका कोरिया अध्ययनका प्राध्यापक भ्लादिमिर टिखोनोभले भने ।
उत्तर कोरियाले सैनिक, हतियारसँगै श्रमको आपूर्तिकर्ताको रूपमा रूसी युद्ध अर्थतन्त्रलाई सहयोग गर्ने विश्लेषण गरिएकाे छ ।