
काठमाडौं । सीमा क्षेत्रको सुरक्षाका विषयमा चीन र भारतबीच नयाँ सहमति भएको छ ।
लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सहमति भएको हो ।
यो सहमतिपछि दुई देशबीच सन् २०२० देखि सुरु भएको विवाद समाधान हुने बताइएको छ । दुई ठूला छिमेकी देशले सहमति गर्दा नेपाललाई पनि सहज हुने विज्ञहरुको भनाई छ ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र चीनको बीचमा राजनीतिक र सैन्यस्तरमा कुराकानी भइरहेको थियो । उनले भने ‘दुबै देश एलएसीमा सैनिक गस्तीलाई लिएर एउटा सम्झौतामा पुगेका छन् ।’
२०२० मा पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरुबीच हिंसात्मक झपड भएको थियो । यो झडपमा २० भारतीय सैनिक मारिएका थिए । केही चिनियाँ सैनिकको पनि मृत्यु भएको थियो । यो घटनापछि दुबै देशको सीमामा तनाव थियो ।
भारतका सामरिक विशेषज्ञ ब्रम्हा चेलानी भारत र चीनको बीचमा सन्य गतिविधि अन्त्य गर्ने कुनै घोषणा नभएको बताउँछन् । बीबीसी हिन्दीका अनुसार उनले भनेका छन्, ‘ब्रिक्स समिटमा मोदी र सी जिनपिङको बैठकलाई सहज बनाउन दुबै देश गस्तीबारे एउटा सहमतिमा पुगेका हुन् ।’ ब्रिक्स समिट २२–२३ अक्टोबरमा रुसमा हुनेछ ।



















