विराटनगर । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच वर्षपछि द्विपक्षीय वार्ता गरेका छन् ।
विश्व अर्थतन्त्रमा प्रभाव जमाएको समूह ब्रिक्सको शिखर सम्मेलनमा क्रममा दुई देशबीच भेटवार्ता भएको हो ।
‘पाँच वर्षपछि यो हाम्रो पहिलो औपचारिक बैठक हो । महामहिम, सीमाबारे भएको सम्झौताको हामी स्वागत गर्छौँ,’ मोदीले भनेका छन्,‘सीमामा शान्ति कायम राख्नु हाम्रो प्राथमिकता हुनुपर्छ र आपसी विश्वास, सम्मान र संवेदनशीलता हाम्रो सम्बन्धको आधार हुनुपर्छ। मलाई विश्वास छ, हामी खुला मनले कुराकानी गर्नेछौँ र हाम्रो छलफल रचनात्मक हुनेछ,’ वार्ताको सुरुवातमा मोदीले सीलाई भनेका छन् ।’
लद्दाखस्थित २०२० मा दुई देशका सैनिकबीचमा हिंसात्मक झडप भएको सीमा क्षेत्रमा गस्ती गर्ने विषयमा सम्झौता गरेको दुई दिनपछि चीन र भारतका शीर्ष नेताहरू आपसी वार्तामा बसेका हुन् ।
सीले भने चीन र भारतले एकअर्काको विकासको लक्ष्यलाई सघाउनुपर्ने बताएका छन् । त्यसका लागि दुवै पक्षले सञ्चार र सहकार्य विकास गर्नुका सार्थ असहमति र मतभेदलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
चीन र भारतबीच सम्बन्ध सुधार भए ब्रिक्स ज्यादा एकढिक्का हुनेछ । यद्यपि, सीमाबारे पछिल्लो सहमतिका विस्तृत विवरण सार्वजनिक भएका छैनन् ।
चीनका लागि भारतसँग तनाव कम हुँदा दिल्ली र वासिङ्टनबीचको दूरी बढाउन अझ सहज हुनेछ । द्विपक्षीय बैठकअघि बुधबार राउन्ड टेबल कार्यक्रममा ब्रिक्सका नेताहरूले अमेरिकी डलरभन्दा बाहिरको भुक्तानी प्रणाली विकास गर्ने सम्बन्धमा छलफल गरेका थिए ।