अब १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ११, आइतबार १७:४४

काठमाडौं । अबदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।

सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क पाइने छ । मंसिर १ गतेबाट उपचार निःशुल्क हुने व्यवस्थासहितको मन्त्रीस्तरीय निर्णय पौडेलले आइतबार गरेका हुन् ।

क्यान्सरको उपचारमा धेरै धनराशि खर्च हुन्छ । पौडेलले आफू स्वास्थ्यमन्त्री बनेलगत्तै बालबालिकाको क्यान्सर उपचार निःशुल्क बनाउन पहल थालेका थिए।

नेपालमा कुल हुने मृत्युमध्ये दुईतिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गत इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ।

नेपालमा हरेक वर्ष करिब १ हजार ५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। क्यान्सरपीडित बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए।

clockप्रकाशित मिति:  २०८१ कार्तिक ११, आइतबार १७:४४
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.