एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनामा डेमोक्रेटिक पार्टीलाई विगतको भन्दा महिलाको समर्थनमा कमी आएको पाइएको छ ।
डेमोक्रेटिकबाट कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार छन् । यसपटकको निर्वाचनमा महिला नै उम्मेदवार हुँदा पनि डेमोक्रेटिकलाई महिलाले कम समर्थन गरेको पाइएको छ । अमेरिकामा ४७ औं राष्ट्रपति चयनको लागि मतगणना जारी छ ।
राष्ट्रपति पदका लागि उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । अमेरिकाको राष्ट्रपति चुनावमा अधिकांश महिला र पुरुषको समर्थनका बारेमा एक्जिट पोलको तथ्यांकमा उल्लेख छ ।
बीबीसीका अनुसार अधिकांश महिला कमला ह्यारिसको पक्षमा देखिएका थिए भने पुरुषहरू डोनाल्ड ट्रम्पको समर्थनमा देखिएका थिए । ह्यारिसलाई ५४ प्रतिशत महिलाको समर्थन प्राप्त भएको तथ्यांकले देखाएको छ ।
यसअघि सन् २०२० मा सम्पन्न चुनावमा ५७ प्रतिशत महिलाले जो बाइडेनलाई समर्थन गरेका थिए । तर, अहिले ह्यारिस उम्मेदवार हुँदासमेत ५४ प्रतिशत मात्रै महिलाले समर्थन गरेको पाइएको छ । यसअघिको राष्ट्रपति निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा डेमोक्रेटिकलाई महिलाको समर्थन कम रहेको हो ।
चुनावी नतिजाहरू एक्जिट पोलबाट मात्रै अनुमान गर्न गाह्रो हुन्छ । तर, मतदानको अवस्था हेर्दा पछिल्लो निर्वाचनको तुलनामा डेमोक्रेटिक पार्टीलाई महिलाको समर्थनमा कमी आएको एक्जिट पोलको तथ्यांकले पुष्टि गर्छ । यसले ह्यारिसलाई चिन्तित बनाएको छ ।
अमेरिका राष्ट्रपति निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार ट्रम्पले अग्रता बढाउँदै लगेका छन् । ५० राज्यमध्ये ३७ राज्यको नतिजा सार्वजनिक भएको छ । जसमध्ये २४ वटामा ट्रम्प र १३ वटामा ह्यारिसले जितेका छन् ।
समाचार एजेन्सीका अनुसार निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न सकिँदैन । अमेरिकाको ५० स्टेटमा ५३८ इलेक्टोरेल मत (सिट)का लागि चुनाव भएको हो । बहुमतका लागि २७० इलेक्टोरेल भोट आवश्यक पर्दछ ।
अहिलेसम्म ट्रम्पले २३० इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् र ह्यारिसले १८७ भोट प्राप्त गरेकी छन् । यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस जानेछन् । ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपति बन्नेछिन् ।