एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिनेको ओइरो लागेको छ । विभिन्न शक्तिराष्ट्रका नेताले बधाई दिँदै सहकार्यका लागि आतुर रहेको उल्लेख गरेका छन् ।
जितको औपचारिक घोषणा नहुँदै ट्रम्पलाई बधाई दिन विश्व नेताहरू अग्रसर भएका हुन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई शक्तिको माध्यमबाट शान्ति स्थापना गर्ने कुरामा विश्वस्त रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचनमा जित सुनिश्चित भएपछि राष्ट्रपति जेलेन्स्की रुसको हस्तक्षेप अन्त्य हुने कुरामा पनि विश्वस्त रहेका छन्।
गत सेप्टेम्बरमा ट्रम्पसँग भेटवार्ता गरेको स्मरण गर्दै उनले अब दुई देशबीच रणनीतिक साझेदारी, आपसी लाभदायक राजनीतिक र आर्थिक विकासलगायतका कुरामा सहकार्य गर्न इच्छुक रहेको बताए। ‘शक्तिमार्फत शान्ति स्थापना गर्ने ट्रम्पको प्रतिवद्धताको प्रशंसा गर्छु। उनको व्यवहारिक सिद्धान्तले युक्रेनमा शान्ति ल्याउन मद्धत गर्नेमा आशावादी छु’ उनले भने ।
त्यस्तै, युरोपेली आयोगले पनि ट्रम्पसँग सहकार्य गर्न उत्सुक रहेको बताएको छ। आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले आर्थिक विकासको साझेदारीका लागि आफूहरू तत्पर रहेको बताएकी छन्।
उनले आफ्ना ८० करोड नागरिकसँगको साझेदारीमा बाँधिएको र अमेरिकासँग रोजगारी, व्यापार र लगानीलाई गतिशीलता प्रदान गर्ने विषयमा सहकार्य गर्न इच्छुक रहेको बताइन्। पछिल्लो कार्यकालमा ट्रम्पले स्टील र आल्मुनियम निर्यातमा कडाइ गरेपछि युरोपको अर्थतन्त्र उथलपुथल बनेको थियो।
त्यस्तै, नाटोका महासचिव मार्क रुटेले ट्रम्पसँग काम गर्न उत्सुक रहेको बताएका छन्। विश्व शान्ति स्थापनाका लागि ट्रम्पको कार्यकालले मुख्य भूमिका खेल्ने विश्वास उनको छ। ‘हामीले विश्वव्यापी रूपमा बढ्दो चुनौतीहरूको सामना गरिरहेका छौं। आक्रामक रुस, आतंकवाद, चीनसँग रणनीतिक प्रतिस्पर्धा र चीन, रुस, उत्तर कोरिया र इरानको बढ्दो गठबन्धन मुख्य हुन्,’ उनले भने। उनले ट्रम्पसँग सहकाकार्य गरेर हिंसालाई रोक्ने, आफूहरूको सामूहिक सुरक्षा हुने र अर्थतन्त्रलाई दीगो बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्।
त्यस्तै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उत्कृष्ट पुनरागमन गरेकोमा ट्रम्पलाई बधाइ दिएका छन्। ट्रम्पको ह्वाइट हाउस फिर्तीले अमेरिकाको लागि नयाँ सुरुवात हुने उनले अपेक्षा गरेका छन्। उनले इजरायल र अमेरिकाबीचको गठबन्धनले अझै शक्तिशाली बन्ने प्रतिवद्धता गरेका छन्।
त्यस्तै, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि ट्रम्पलाई बधाई दिएका छन्। उनले अमेरिकासँग सहकार्य गर्न तयार रहेको र दुई देशको शान्ति र समृद्धिको पक्षमा उभिने वाचासमेत गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जितका लागि ट्रम्पलाई बधाई दिएका छन्। उनले अघिल्लो कार्यकालजस्तै यसपटक पनि भारत–अमेरिका सम्बन्धलाई उचाइमा पुर्याउने प्रतिवद्धता गरेका छन्। उनले भारत–अमेरिकाको व्यापार, रणनीतिक साझेदारी र आपसी सहयोग बढाउने कुरामा विश्वस्त रहेको बताएका छन्। ‘आउनुस्, मिलेर आफ्ना नागरिकहरूको कल्याण गरौं। विश्व शान्ति स्थापना र समृद्धिको पक्षमा काम गरौं,’ उनले भने।
त्यस्तै, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ट्रम्पलाई बधाई दिएका छन्। उनले पाकिस्तान–अमेरिका सम्बन्धनलाई थप बलियो बनाउने विषयमा आफू प्रतिवद्ध रहेको बताएका छन्। उनले ट्रम्पसँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरेका छन् ।