डोटी । डोटीको शुजंग अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ ।
दिपायल–सिलगढी नगरपालिका– ३ का लोकेन्द्र भुलकी ९ वर्षीया छोरी रजनी भुलको मृत्यु भएको हो । खेल्ने क्रममा लडेर बाँया हात भाँचिएकी बालिकालाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।
शुजंग अस्पतालमा बुधबार साँझ अप्रेशनको तयारी गर्दैगर्दा बालिकाको मृत्यु भएको थियो । प्रहरीका अनुसार बेहोस पार्ने औषधिको असरका कारण बालिकाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनालगत्तै प्रहरीले अस्पतालका चिकित्सकहरु डा.राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।