विराटनगर । विराटनगर महानगरपालिका–५ बरगाछीको लाइफ गार्ड हस्पिटलले सञ्चालन गरेको फार्मेसी (औषधि पसल)बाट शुक्रबार १० लाख रूपैयाँभन्दा बढीको खाद्य पुरक सामग्री बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले लाइफ गार्ड हस्पिटल फार्मेसीमा छापा हानेर विभिन्न नाम एवं ब्रान्डका खाद्य पुरक सामग्री बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार फार्मेसीबाट प्रतिबन्धित औषधि बिक्री हुने गरेको सूचनाका आधारमा दिउँसो ३ः३० बजेतिर छापा हानिएको थियो ।
प्रतिबन्धित औषधि फेला नपरेको र खाद्य पुरक सामग्री चैं फार्मेसीमा राखेर बिक्री गर्ने गरेको पाइएको जानकारी उनले दिए । बरामद भएको खाद्य पुरक सामग्री १० लाख ७५ हजार रूपैयाँ मूल्य बराबरको रहेको जानकारी डीएसपी जोशीले दिए । उनका अनुसार बरामद गरिएको १० प्रकारका सामग्री औषधि विभागको जिम्मा लगाइएको छ ।
प्रहरी र विभागको संयुक्त टोलीले बेस्टो सीएफ २ हजार ८० ट्याब्लेट, फेरिकम एक्सटी १ हजार ३ सय २०, ओक्सो माक्स ६ सय ९०, क्यू होप ५ सय ६०, प्रिमियर भीपी १ सय, एक्स्टेन्भिट ६ सय, रेस्भिनो गोल्ड १ हजार ३ सय २०, कोरल कल एचडी ६ सय, बोने कार्ट ३ सय २० र एमसी कार्ट ८ हजार ५ सय ट्याब्लेट बरामद गरेको हो ।
औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख कमल गुरागाईंका अनुसार फार्मेसीमा राखेर खाद्य पुरक सामग्री बेच्न पाइँदैन । ‘यो बिक्रीका लागि छुट्टै हिसाबले अनुमति लिनुपर्छ । अलग्गै काउन्टर हुनुपर्छ । फार्मेसीबाट औषधिसँगै बेच्न मिल्दैन । नियमविपरीत बेचिरहेको पाइएकाले बरामद गरेर ल्याएका छौं,’ उनले भने ।
उनका अनुसार खाद्य पुरक सामग्री औषधि हैन । तर, चिकित्सकले पोषक तत्वका रूपमा औषधिसँगै सिफारिस गरिदिने भएकाले बिरामीले पनि प्रयोग गर्ने गरेको गुरागाईं बताउँछन् । ‘औषधिसँगै चिकित्सकले किन सिफारिस गर्नुहुन्छ भन्ने चैं उहाँहरुको कुरा हो,’ उनी भन्छन्, ‘प्राय चिकित्सकले बिरामीका लागि पोषक तत्वका रूपमा खाद्य पुरक सामग्रीको सिफारिस गरेको पाइन्छ ।’
बिन अनुमति खाद्य पुरक सामग्री बिक्री गरेको पाइएकाले फार्मेसी सञ्चालकलाई बयानका लागि बोलाइएको जानकारी गुरागाईंले दिए । ‘खरिद गरेको बिल र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । त्यहाँ केही न केही कैफियत छ नै । यस विषयमा थप अनुसन्धान भइरहेको छ । प्रहरीसँग समन्वय गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।