काठमाडौं । फ्रान्सको सरकार गठन भएको तीन महिनामै ढलेको छ । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिना अघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्निये नेतृत्वको सरकार ढलेको हो ।
बीबीसीका अनुसार फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको ६२ वर्षयताको पहिलो घटना हो ।
सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतले पास भएको बीबीसीले जनाएको छ । अविश्वास प्रस्ताव पास हुनका लागि २८८ मत चाहिनेमा पक्षमा ३३१ मत परेको थियो ।
मिशेल तीन महिनाअघि मात्रै प्रधानमन्त्री बनेका थिए । अविश्वास प्रस्तावमा हारेपछि फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बनेका छन् । उनी ९१ दिनसम्म मात्र प्रधानमन्त्री बनेका थिए ।
फ्रान्समा गत जुलाईमा आम चुनाव भएको थियो । तर कुनै पनि दलले बहुमत पाएका थिएनन् । त्यसैले राष्ट्रपति इम्यानुअल म्याक्रोनले बर्नियेको नेतृत्वमा सरकार गठन गरेका थिए । प्रधानमन्त्री बर्नियेले संसदमा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए ।