एजेन्सी । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले राजधानी दमास्कससहितका अधिंकाश सहर कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले देश छाडेका छन् ।
सिरियामा विद्रोहीले राजधानी दमास्कससहितका धेरै सहरहरुलाई आफ्नो नियन्त्रणमा आइरहेको जनाएको छ । विद्रोही समूहले ट्यांक पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
विद्रोही र राज्य पक्षको लफडाले सिरियाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । सिरियाली सरकारको नियन्त्रणमा रहेका सहर र सैन्य अड्डाहरु विद्रोहीको कब्जामा पुगेका छन् ।
अब सिरिया स्वतन्त्र भएको दाबी विद्रोही पक्षको छ । विद्रोहीले यो दाबी गरिरहँदा सिरियाका राष्ट्रपति बसर अल असदको विमान आकाशमा उडेको देखिएको थियो ।
उनले परिवारसहित देश छाडेर भागेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति बसरले शनिबार साँझ नै देश छाडेको दाबी गरिए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ । उनी रुसको शरणमा पुगेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
विद्रोहीहरूले दमास्कसबाट केही दूरीमा रहेको राष्ट्रपति असदका पिता तथा पूर्वशासक हाफेज अल असदको प्रतिमा भत्काएका थिए । यसैबीच, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विषयमा ट्वीट गर्दै राष्ट्रपति जो बाइडेनलाई सिरियाको विषयमा कदम नचाल्न भनेका छन् ।
ट्रम्पले यो अमेरिकाको लडाइँ नभएको र सिरियाको आन्तरिक विषय भएको उल्लेख गरेका छन् ।