एजेन्सी । अमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । जहाज र हेलिकप्टर ठोक्किएर भयानक दुर्घटना भएको २ दिनपछि अर्को दुर्घटना हुन पुगेको हो ।
अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगोको मुस्लो देखिएको छ ।
जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार सबै मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । विमानमा चालक दलका ४ सदस्य, एक बालरोगी र उनका अभिभावक थिए । उनीहरु मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए ।
लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको र स्थानीय समयानुसार साँझ ६ः३० बजेतिर दुर्घटनाग्रस्त भएको जनाइएको छ । घटनापछि आपतकालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए ।
विमानले उक्त क्षेत्रका धेरै भवनहरू र कारहरूलाई ठक्कर दिएको थियो । यद्यपि, क्षतिको थप विवरण आइसकेको छैन । गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डिसीमा अमेरिकी एयरलाइन्सको विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो ।