देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ६, शनिबार ०८:२९

काठमाडौं । देशभरका २२ लाख बालबालिकालाई आज (शनिबार) र भोलि (आइतबार) भिटामिन ‘ए’ एवं जुकाको औषधि खुवाइँदैछ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रूपमा औषधि खुवाउने अभियान सञ्चालन गरेको हो । ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम छ ।

Advertisement

१ वर्षदेखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभागका अनुसार बालबालिकालाई बालभिटा पनि खुवाइनेछ र बालबालिकाको पोषणको अवस्था समेत परीक्षण गरिनेछ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, भिटामिन ‘ए’ को कमीले बालबालिकाको दृष्टि कमजोर हुने, रतन्धो हुने, आँखामा घाउ देखिनेजस्ता समस्या देखा पर्न सक्छन्। पहिले निकै बालबालिका दृष्टिविहीन हुने गरेको बताउँदै उनले भिटामिन ‘ए’ खुवाउन थालेपछि त्यस्तो समस्या निकै कम भएको उल्लेख गरे ।

‘बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा पोषणको विशेष भूमिका हुन्छ। तर, नेपालमा अझै पनि बालकुपोषण एक प्रमुख समस्या बनेको छ। सरसफाइको कमी, उचित आहारको अभाव र जुकाको संक्रमणले बालबालिकामा पोषणको कमी देखिने गरेको पाइन्छ,’ लालले भने ।

जुका आन्द्रामा बस्ने र पोषक तत्त्व चुस्ने परजीवी हो। यसले बिस्तारै बालबालिकालाई कमजोर बनाउँदै लैजान्छ। त्यसैले वर्षमा २ पटक वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

यस पटकको अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएको छ। स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले घर–घरमा गएर औषधि वितरण गर्नेछन्।

सरकारले बालबालिकाको स्वास्थ्य सुधारका लागि २०५९ सालदेखि यो कार्यक्रमलाई देशभर लागू गरेको थियो । भिटामिन ‘ए’ कार्यक्रम २०५० सालमा ८ जिल्लाबाट सुरु भएको थियो ।

जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालबाट सुरु भयो । २०६७ सालदेखि देशभर सञ्चालन गरियो । बालभिटा भने २०६४ सालदेखि खुवाउन थालिएको हो।

सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ। भिटामिन ‘ए’ आँखा, छाला र शरीरको प्रतिरोधात्मक क्षमताका लागि अत्यन्त आवश्यक पोषक तत्त्व मानिन्छ । सरकारी तथ्यांकअनुसार भिटामिन ‘ए’को अभावले नेपालमा दैनिक १ जना बालबालिका दृष्टिविहीन हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.