२५ महिनापछि कोरोना संक्रमतिको मृत्यु, संक्रमणको स्रोत अपुष्ट

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार १८:०१

विराटनगर । कोरोना भाइरस (कोभिड–१९)बाट इलाम घर भएकी १ महिलाको विराटनगरमा मृत्यु भयो । यो भयावह अवस्थामा पुगेको कोरोना महामारीपछिको पहिलो मृत्यु हो ।

तर, २५ महिनापछि नेपालमा कोरोना संक्रमितको मृत्यु हुँदा संक्रमण कहाँबाट सर्यो भन्ने यकिन हुन सकेको छैन । मृतक महिलाको विदेश यात्राको इतिहास देखिएको छैन । न त संक्रमणको स्रोत नै पुष्टि हुन सकेको छ ।

Advertisement

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलकी ३९ वर्षीया लामा थरकी महिलाको असार १० गते बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था थप जटिल बनेपछि विराटनगरको नोबेल अस्पताल रेफर गरियो ।

तर, नोबेल पुर्याएको ३ घण्टा पनि बित्न नपाउँदै उनले ज्यान गुमाइन् । अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार संक्रमित महिलालाई मंगलबार बिहान करिब ३ बजे भर्ना गरिएको थियो ।

बिहान ६ बजेतिर उनको मृत्यु भएको राईले बताए । चिकित्सकीय रिपोर्टमा मृत्युको कारण मुटु र फोक्सोको समस्या अर्थात् ‘कार्डियो पल्मोनरी अरेस्ट’ उल्लेख गरिएको छ। साथै यूटीआई र अन्य स्वास्थ्य समस्या पनि देखिएको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार महिलामा कोभिड पोजेटिभ देखिए पनि मृत्युको कारण कोभिड भन्ने प्रमाण छैन। ‘कोभिडकै कारण मृत्यु भएको भए मृत्यु प्रमाणपत्रमा उल्लेख हुन्थ्यो,’ उनले भने, ‘७–८ दिनअघिदेखि महिलाको स्वास्थ्यमा समस्या देखिएको रहेछ । त्यो कोभिडकै असर हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

यो घटनासँगै नेपालमा कोभिडका कारण २५ महिनापछि मानिसको मृत्यु भएको देखिन्छ । मन्त्रालयका अनुसार अघिल्लोपटक २०८० साल वैशाख २१ गते कोभिड–१९ का कारण मृत्यु भएको थियो।

मृतक महिलालाई १ साताअघि श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। आईसीयूमा केही दिनको उपचारपछि स्वास्थ्यमा सुधार देखिएर उनलाई घर फर्काइयो ।

तर, सास फेर्न झनै गाह्रो भएपछि उनलाई पुनः सोमबार बिहान बिर्तासीटी अस्पताल लगिएको थियो । परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

यद्यपि, उनलाई कहाँबाट संक्रमण सल्कियो भन्ने अझै स्पष्ट छैन। उनी विदेश गएकी थिइनन् । बाहिर यात्रा गरेको कुनै विवरण छैन। उनका पति घरमै पसल चलाउँछन् । परिवारका अन्य सदस्यहरूमा पनि कुनै लक्षण देखिएको छैन।

सूर्योदय नगरपालिकाका जनस्वास्थ्य निरीक्षक विपुल अधिकारीका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन भने संक्रमणको स्रोत पनि अपुष्ट छ । ‘परिवारका कसैमा लक्षण छैन । सबै सामान्य छन्,’ उनले भने, ‘कोरोना परीक्षण भने गरिएको छैन । आवश्यक पर्यो भने गरिने छ।’

मृतक महिलाको खोप लगाएको हो वा होइन भन्ने पनि हालसम्म खुल्न सकेको छैन। अधिकारीका अनुसार कोभिड देखिएपछि नगरपालिका सतर्क बनेको छ।

मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी सुरु गरिएको छ । तर, यतिबेला समुदायमा कोभिडको पुनः संक्रमणको जोखिम कति छ भन्ने मूल्यांकन गर्न समय लाग्ने उनले बताए।

यो घटनाले कोरोना संक्रमण पूर्णरूपमा अन्त्य भइसकेको छैन भन्ने पुष्टि हुन्छ । यद्यपि, स्वास्थ्य मन्त्रालयले यो घटनामा मृत्युको कारण कोरोना संक्रमण नठानिएको प्रष्ट पारेको छ । तर, रिपोर्ट पोजेटिभ देखिएपछि मृत्यु हुनुले समुदायस्तरमा संक्रमणको जोखिम अझै बाँकी रहेको देखिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्यकर्मीहरुले थप सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गरेका छन् । संक्रमण कहाँबाट फैलियो र भविष्यमा यस्ता घटना दोहोरिन नदिन के गर्न सकिन्छ भन्नेबारे अध्ययन र अनुगमन सुरु गरिएको अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.