
विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य नीति, २०८२ सार्वजनिक गर्दै प्रदेशभरिका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना अघि सारेको छ ।
प्रदेश सरकारले नागरिकहरूलाई शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ राखेर उत्पादनशील जीवन यापन गर्न सक्षम बनाउने मुख्य उद्देश्य राखेर स्वास्थ्य नीति तयार पारेको छ । स्वास्थ्य मन्त्रालयले उक्त नीति सार्वजनिक गरेको हो ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार नयाँ नीति ६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीतिसहित तयार गरिएको छ । मन्त्रिपरिषद्को गत साउन १६ गतेको बैठकबाट स्वीकृत नीति आइतबार मन्त्रालयको ‘वेभसाईड’ र ‘फेसबुक’ पेजमा सार्वजनिक गरिएको छ ।
स्वास्थ्य नीतिमा प्रदेशभित्रको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र चुनौतीहरूलाई ध्यानमा राखिएको छ । नीति अनुसार प्रदेशमा पर्याप्त स्वास्थ्य पूर्वाधार नहुनु, अस्पतालहरूबाट गुणस्तरीय सेवा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, उपलब्ध जनशक्तिको पनि उचित व्यवस्थापन हुन नसक्नु र लगानीको कमी जस्ता समस्याहरू रहेको उल्लेख गरिएको छ ।
साथै, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, ५ वर्षमुनिका बालबालिकामा रक्तअल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषण व्यापक हुनुलाई पनि ठूलो चुनौतीका रूपमा देखाइएको छ ।
स्वास्थ्य नीति विशेषगरी क्षयरोग, कुष्ठ रोग, उपेक्षित उष्णप्रदेशीय रोग र कीटजन्य रोग जस्ता संक्रमण दर उच्च रहेका रोगहरूको नियन्त्रणमा केन्द्रित रहने बताइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्याहरू अन्य प्रदेशभन्दा उच्च देखिएको छ ।
सर्वेक्षणले मानसिक रोगको व्यापकता १३.९५ प्रतिशत, किशोरावस्थामा मानसिक रोग ११.४५ प्रतिशत, मद्यपानको लत ६.५५ प्रतिशत, लागुऔषधको दुर्व्यसन ०.४५ प्रतिशत र आत्महत्याको सोच १०.६५ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेको छ । स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ राखिएको छ ।
नीतिमार्फत विद्यमान, सम्भावित, उदीयमान तथा पुनःउदीयमान स्वास्थ्य चुनौतीहरूको समाधान गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योजना अघि बढाइने छ । मन्त्रालयले यस नीति कार्यान्वयनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र लगानीको व्यवस्थापनमा जोड दिने जनाएको छ ।
कोशी प्रदेशको स्वास्थ्य नीतिलाई नागरिकको जीवनस्तर सुधार्ने, बालबालिका र महिलाको पोषणमा ध्यान दिने, रोग नियन्त्रणमा प्रभावकारी रणनीति लागू गर्ने र मानसिक स्वास्थ्य समस्याहरू घटाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । प्रदेशभित्र स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउने प्रयासका लागि यो नीति बलियो आधार बन्ने अपेक्षा गरिएको छ ।
यस्तो छ कोशीको स्वास्थ्य नीति, २०८१ को पूर्णपाठ

























