डा. गोविन्द केसीले सुरु गरे २३ औँ सत्याग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १५, आइतबार १३:३५

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आइतबारदेखि २३ औँ सत्याग्रह सुरु गरेका छन् । उनले आफ्ना माग राख्दै धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनशन थालेका हुन् ।

डा. केसीले ४ बुँदे माग प्रस्तुत गरेका छन् । चिकित्सा शिक्षामा निजी कलेजहरूले अत्यधिक विद्यार्थी सिट वृद्धि गरेको निर्णय फिर्ता लिन, शुल्क वृद्धि नगर्न, तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उनको प्रमुख माग छन् । साथै, गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि राखिएको छ ।

उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान तथा विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन पारित गर्न र त्यसअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्ने लगायतका पहलहरू लागू गर्न सरकारसँग माग गरेका छन् । डा. केसीले राष्ट्रिय सुरक्षा र क्षेत्रीय विषयमा समेत माग राख्दै लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

यसबाहेक उनले युक्रेन र गाजामा जारी नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग राखेका छन् । उनको यो सत्याग्रहले चिकित्सा शिक्षा सुधारका साथै सामाजिक र अन्तर्राष्ट्रिय न्यायका विषयमा पनि ध्यानाकर्षण गर्ने विश्वास व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.