
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार राति श्रृंखलाबद्ध विस्फोट भएको छ । गोलीका आवाजहरू पनि सुनिएका छन् ।
घटनाको कारण र सम्भावित क्षतिको अवस्था अझै स्पष्ट नभएको स्थानीय सञ्चारमाध्यम र बासिन्दाले बताएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।
सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा आकाशमा उज्यालो चम्किएको देखिन्छ, जसका कारण अज्ञात विमानद्वारा हवाई हमला भएको अपुष्ट दाबीहरू भइरहेका छन् ।
तालिबानको अन्तरिम प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस विषयमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । उनले ‘एक्स’मार्फत भनेका छन्, “कसैले पनि चिन्ता लिनु पर्दैन । सबै कुरा सामान्य र ठीक छ ।”
उनले अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआएको पनि उल्लेख गरेका छन् ।



















