
काठमाडौँ । क्यामरुनका राष्ट्रपति पाउल बियाले ९२ वर्षको उमेरमा आठौं कार्यकालको शपथ लिएका छन् । उनी विश्वका राष्ट्रप्रमुखमध्ये सबैभन्दा वृद्ध हुन् । सन् १९८२ मा उनी पहिलोपटक राष्ट्रपति निर्वाचिन भएका थिए । त्यसयता, हरेक निर्वाचनबाट उनी राष्ट्रपति चयन हुँदै आएका छन् । १२ अक्टोबरमा सम्पन्न निर्वाचनको परिणाम २७ अक्टोबरमा सार्वजनिक भएको थियो । बियाले ५३ दशलमव ६६ मत तथा उनका निकटतम प्रतिस्पर्धी इस्सा चिरोमा बाकरीले ३५ दशमलव १९ प्रतिशत मत ल्याएका थिए ।
आठौंपटक निर्वाचित भएपछि शपथ लिँदै बियाले पछिल्ला प्रदर्शनका मृतकप्रति समवेदना प्रकट गरेका छन् । केही गैरजिम्मेवार राजनीतिज्ञका कारण यस्तो अवस्था सिर्जना भएको पनि उनले बताए । ‘म विश्वास दिलाउन चाहन्छु, नियम फेरि लागू हुनेछ,’ उनले भनेका छन् । उनले निष्पक्ष ढंगले निर्वाचन गर्न सफल भएको भन्दै निर्वाचन आयोगलाई पनि धन्यवाद दिएका छन् ।
विपक्षी उम्मेदवार बाकरीले निर्वाचन अधिकारीहरुको धाँधलीका कारण आफू पराजित हुन परेको आरोप लगाएका छन् । मत परिणाम सार्वजनिक हुनासाथ देशभर प्रदर्शन भएपछि सेनाले गोली चलाउँदा १४ व्यक्ति मारिएका थिए भने १२ सयभन्दा धेरैजना पक्राउ परेका थिए ।
मृतकको संख्या मंगलबारसम्म ४८ पुगिसकेको संंयुक्त राष्ट्रसंघ निकट स्रोत उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । ‘धेरैजसो पीडित गोली लागेर मरेका छन् । केहीमाथि निर्मम ढंगले कोर्रा हानिएको छ र कुटपिटले नै मरेका छन्,’ रोयटर्सले लेखेको छ ।

























