
काठमाडौं । उत्तरी जापानको तटीय क्षेत्रमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै थप परकम्पहरू महसुस गरिएको जनाएको छ ।
जापानको समय अनुसार करिब ५ बजे इवाते प्रान्तको तटबाट १० किलोमिटर समुन्द्र सतहमुनि भूकम्पको केन्द्रविन्दु थियो । उत्तरी तटीय क्षेत्रमा १ मिटरसम्म अग्लो सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ ।
सार्वजनिक प्रसारक एनएचकेका अनुसार इवाते प्रान्तका ओफुनाटो, ओमिनाटो, मियाको र कामाईशीमा करिब १० सेन्टिमिटर ९४ इन्च० अग्लो सुनामीको लहर मापन गरिएको थियो।
प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पका कारण तत्काल कुनै चोटपटक वा क्षतिको विवरण आएको छैन । उक्त क्षेत्रमा रहेका दुई आणविक ऊर्जा प्लान्टहरूमा पनि कुनै असामान्य गतिविधि नदेखिएको जनाइएको छ ।
भूकम्पका कारण यस क्षेत्रमा बुलेट रेल सेवाहरू अस्थायी रूपमा रोकिएका थिए भने केही स्थानमा विद्युत् कटौती भएको क्योडो न्यूजले जनाएको छ।

























