फाइल तस्बीरकाठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेटाेकाे सदस्यता त्याग गर्न तयार भएका छन् । उनले आफ्नो देशको लागि भूमि र सार्वभौमसत्ता सबैभन्दा महत्वपूर्ण भएको स्पष्ट सन्देश पनि दिएका छन् ।
नेटो सदस्यताको विषयमा लचिलोपन देखाउँदै जेलेन्स्कीले पश्चिमी राष्ट्रहरूले ठोस सुरक्षा ग्यारेन्टी दिएमा युक्रेनले नेटोको सदस्यता लिने माग छोड्न सक्ने बताए । यद्यपि, उनले रुसलाई आफ्नो भूभाग छोड्ने अमेरिकी दबाबलाई अस्वीकार गरेका छन् । उनले युक्रेनका लागि आफ्नो भूभाग छोड्ने प्रस्ताव अस्वीकार्य भएको बताएको समाचार संस्था एपीले जनाएको छ ।
बर्लिनमा भएको महत्वपूर्ण वार्ताका क्रममा जेलेन्स्कीले अमेरिकाका विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेराड कुशनरसँग भेटवार्ता गरेका छन् । यस बैठकमा जर्मनीका चान्सलर फ्रेडरिक मर्ज पनि उपस्थित थिए ।
जेलेन्स्कीले नेटोको सदस्यता छोड्नु युक्रेनका लागि एक ठूलो सम्झौता हुने बताएका छन् । उनको भनाइमा सुरक्षा ग्यारेन्टीको उद्देश्य रुसको भविष्यमा हुने कुनै पनि आक्रामक कारबाहीलाई रोक्नु भएको बताए । उनले यी ग्यारेन्टीहरू केवल बक्तव्यबाजी नभएर कानुनी रूपमा बाध्यकारी हुनुपर्ने र त्यसलाई अमेरिकी संसद्ले अनुमोदन गर्नुपर्ने पनि स्पष्ट पारे ।

























