
काठमाडौं । अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउस नजिकै गोली चलेपछि वासिङ्टन डिसीमा सुरक्षा सतर्कता कडा पारिएको छ ।
घटनापछि सुरक्षा निकायहरू उच्च तयारीमा जुटेका छन् भने ह्वाइट हाउस आसपासको क्षेत्रलाई नियन्त्रणमा लिइएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ह्वाइट हाउसको उत्तरतर्फ रहेको ‘नर्थ लन’ नजिकैबाट लगातार गोली चलेको आवाज सुनिएको थियो ।
प्रत्यक्षदर्शीहरूले ३० भन्दा बढी गोली प्रहार भएको दाबी गरेका छन् । घटनापछि प्रहरीले तत्काल आवतजावत बन्द गर्दै उक्त क्षेत्रलाई घेराबन्दी गरेको थियो ।
संघीय अनुसन्धान विभागका निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत सुरक्षा अधिकारीहरू घटनास्थलमा परिचालित भइसकेको र थप विवरण संकलन भइरहेको बताएका छन् । हालसम्म घटनामा कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन ।
घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको जनाइएको छ । उनी राष्ट्रपतिको कार्यकक्षभित्र रहेको अनुमान गरिए पनि ह्वाइट हाउसले उनको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
यसैबीच, घटनास्थल नजिक रहेका पत्रकारहरूलाई तत्काल पत्रकार सम्मेलन कक्षभित्र जान निर्देशन दिइएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा फौजसमेत परिचालन गरिएको बताइएको छ ।



















