
एजेन्सी । इरानले अमेरिकासँगको तनाव कम गर्न सम्झौतामार्फत समाधान खोज्न आफू तयार रहेको जनाएको छ ।
इरानको विदेश मन्त्रालयले शनिबार अमेरिकासँग सम्भावित सहमतिका लागि १४ बुँदे प्रारूप तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै मुख्य उद्देश्य १४ बुँदालाई समेटेर सम्झौताको प्रारम्भिक मस्यौदा तयार गर्नु रहेको बताएका छन् ।
उनले तेहरान वार्ताको पक्षमा रहे पनि अमेरिका र इरानबीचका विवादित विषयमा तत्काल सहमति हुने सम्भावना कम रहेको स्पष्ट पारे । उनका अनुसार इरान मेलमिलाप र कूटनीतिक समाधानको बाटोमा अघि बढ्न तयार भए पनि संवेदनशील मुद्दामा अझै गहिरो मतभेद कायम छन् ।
इरानको यो धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति प्रयास असफल भए आक्रमण हुन सक्ने चेतावनी दिएपछि सार्वजनिक भएको हो । यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच शुक्रबार भेटवार्ता हुँदा पश्चिम एसियाको सुरक्षा अवस्था, इरानसँग सम्बन्धित तनाव र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
इरानी समाचार संस्था तस्निमका अनुसार दुवै पक्षले क्षेत्रीय तनाव बढ्न नदिन कूटनीतिक पहललाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । पाकिस्तानले यसअघि पनि पश्चिम एसियामा तनाव कम गर्न मध्यस्थताको प्रयास गर्दै आएको भए पनि उल्लेखनीय सफलता भने हात लागेको छैन ।
यता भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानसँग सम्भावित शान्ति सम्झौताका लागि केही प्रगति भइरहेको बताएका छन् ।



















