जीवनशैलीले निम्त्याउँछ हाडजोर्नीको ८० प्रतिशत समस्या

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ जेष्ठ १०, आइतबार १५:५५

विराटनगर । बदलिँदो जीवनशैली र खानपानमा आएको असावधानीका कारण हाडजोर्नी सम्बन्धी समस्या गम्भीर चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार करिब ८० प्रतिशत हाडजोर्नीका समस्या प्रत्यक्ष रूपमा मानिसको गलत दैनिकी र आनीबानीसँग जोडिएका छन् ।

यदि तपाईंको दैनिकी बिहान अबेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिने र शारीरिक व्यायाममा अल्छी गर्ने खालको छ भने तपाईं हाडजोर्नीको समस्यामा पर्ने निश्चित छ । पहिले बुढाबुढीको समस्या मानिने यो रोग अहिले युवा र बालबालिकामासमेत बढ्दै गएको छ ।

Advertisement

हाम्रो समाजमा हाडजोर्नी दुखाइलाई सामान्य रूपमा लिने गरिए पनि समयमै उपचार नहुँदा यसले मानिसलाई प्यारालाइसिस (पक्षघात) सम्म पुर्‍याई ओछ्यानमै थला पार्न सक्छ ।

किन हुन्छ हाडजोर्नीमा समस्या ?

शरीरको हड्डी कमजोर हुनु, ढाड तथा जोर्नी दुख्नु, मोटोपन बढ्नु र घुँडाको समस्या देखिनु गलत जीवनशैलीका उपज हुन् । सिक्किम मनिपाल कलेजका फिजियोथेरापी डा. रिसव गौतमका अनुसार हड्डीको जोर्नीमा एक प्रकारको तरल पदार्थ हुन्छ । शारीरिक व्यायामको कमी र असन्तुलित आहारका कारण उक्त तरल पदार्थ कम हुँदै जान्छ, जसले गर्दा हाडजोर्नीमा समस्या उत्पन्न हुन्छ ।

‘हाड यस्तो कुरा हो, जसलाई जति सही तरिकाले प्रयोग गर्‍यो, त्यति नै बलियो बन्दै जान्छ,’डा. गौतम भन्छन्,’ तर यसका लागि सन्तुलित आहारमा ध्यान दिनु उत्तिकै जरुरी छ ।’ हाडजोर्नी कमजोर हुँदा पलेटी कसेर बस्न नसक्ने, थोरै काम गर्दा पनि धेरै थकाइ लाग्ने जस्ता लक्षण देखिन्छन् ।

विश्व स्वास्थ्य संगठनकाे तथ्याङ्क अनुसार ढाड, गर्धन र हाडजोर्नी सम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण हुने गरेको छ । नोवेल मेडिकल कलेजका फिजियोथेरापी डा. प्रनय यादवले अस्पतालमा हाडजोर्नीका बिरामीको संख्या दोब्बरले बढेको बताए । उनले भने, ‘पहिले दैनिक ४० देखि ५० जना बिरामी आउने गरेकामा हाल यो संख्या १०० भन्दा बढी पुगेको छ ।’

उपचारका लागि आउनेमा अधिकांश लामो समयसम्म उभिएर काम गर्ने, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग गर्ने तथा नियमित रूपमा लामो दूरीसम्म मोटरसाइकल यात्रा गर्ने युवाहरू रहने गरेका छन् ।

हाडजोर्नीको समस्या बालबालिकामा पनि डरलाग्दो गरी बढ्दै गएको डा. यादव बताउँछन् । पढाइको मानसिक तनाव, स्कुलको गह्रौँ झोला, लामो समय निहुरिएर पढ्ने वा मोबाइल चलाउने, सुतेर टिभी हेर्ने र अग्लो सिरानी प्रयोग गर्ने बालबालिकाहरू बढी समस्यामा परेका छन् ।

शारीरिक क्रियाकलापमा कमी, जङ्कफुडको बढ्दो प्रयोग र धूम्रपान हाडजोर्नी रोगका प्रमुख कारक तत्व हुन् । विज्ञहरूका अनुसार समयमै आफ्नो आनीबानी र जीवनशैलीमा सुधार नगर्ने हो भने यसले भविष्यमा विकराल रूप लिन सक्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.