असोज ८ देखि एभरेस्ट महिला भलिबल लिग 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार १५:३९
असोज ८ देखि एभरेस्ट महिला भलिबल लिग 

काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग ‘एभरेस्ट महिला भलिबल लिग’ को तेस्रो संस्करण आगामी असोज दोस्रो सातादेखि आयोजना हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिगको तेस्रो संस्करण आगामी असोज ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आयोजना गरिने छ।

Advertisement

सहभागी फ्रेन्चाइज टोलीहरू र सरोकारवाला पक्षहरूसँगको विस्तृत छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा महिला भलिबलप्रति बढ्दो आकर्षण र क्रेजलाई मध्यनजर गर्दै दसैँको पूर्वसन्ध्यामा खेल प्रेमीहरूलाई चाडपर्वको छुट्टै रौनक प्रदान गर्ने आयोजकको विश्वास छ।

एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिगको रूपमा दाबी गरिएको यस प्रतियोगिताले नेपालको महिला भलिबल विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ। यसअघिका दुई संस्करण भव्य रूपमा सम्पन्न भइसकेका छन् । पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखराबाट सुरु भएर केही प्राविधिक कारणले काठमाडौंमै समापन भएको थियो ।

लिगको दुवै संस्करणको उपाधि ‘कर्णाली यशविस’ ले जितेको थियो । अघिल्लो संस्करणमा कर्णाली यशविसहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जा गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

लिगका टेक्निकल डिरेक्टर जगदीश भट्टले यस पटकको संस्करण विगतभन्दा अझ परिष्कृत र वृहत हुने बताए । ‘नेपाली महिला भलिबल टोली अहिले एफआइभीबी विश्व वरीयतामा समावेश हुनुका साथै एसियाको शीर्ष १० भित्र पर्न सफल भएको छ। साथै जापानमा हुने एसियन गेम्सका लागि पनि छनोट भएको सुखद सन्दर्भमा यो लिग हुनु गौरवको कुरा हो, भट्टले भने ।

उनले थपे, ‘यस पटक काठमाडौंको सुविधा सम्पन्न कभर्ड हलमा खेल हुनेछ। यस लिगले खेलाडीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै व्यावसायिक भलिबलको जगलाई अझ बलियो बनाउने छ।’
राखेपको कभर्ड हलको स्तरोन्नतिपछि काभा महिला भलिबल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सफलतापूर्वक आयोजना भइसकेकाले यस पटकको इडब्लुभिएल पनि सोही स्थानमा गर्न लागिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.