
विराटनगर । राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका ८४ वर्षीय हर्कमान तामाङलाई नचिन्ने सायदै होलान् ।
प्रत्यक्ष नभेट्नेले पनि नाम सुनेकै हुनुपर्छ । मोरङको बेलबारी नगरपालिका–२ मा बसोबास गर्दै आएका उनी निष्ठा र आदर्शका प्रतिमूर्तिका रूपमा परिचित छन् । राजनीति, समाजसेवा, शिक्षा र साहित्य क्षेत्रमा लामो समय व्यतीत गरेका तामाङ निष्कलंक र खुला हृदय भएका नेता हुन् । उनी कुनै विवादमा परेको जानकारी छैन । निष्ठा र इमान्दारिताकै राजनीतिका कारण सबैको प्रेरणाको स्रोत एवं आदर्श व्यक्तित्व भनेर तामाङलाई सम्बोधन गरिन्छ ।
विक्रम संवत १९९७ साल साउन २५ गते भोजपुरको बोखिममा जन्मिएका उनी अहिले जीवनको उत्तरार्धमा छन् । बुवाआमाको काखमै दार्जिलिङ पुगेका उनको बाल्यकाल उतै बित्यो । शिक्षादीक्षा पूरा गरेर नेपाल फर्किए । नेपाल फर्किएर २०२८ सालपछि नेपाली वामपन्थी राजनीतिमा सक्रिय भए ।
व्यक्तिगत लोकप्रियताकै कारण मोरङको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट ३ पटकसम्म प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हर्कमान तामाङ अहिले भने बुढेसकालको ‘कठघरा’मा परेका छन् । एक्लै हिँडडुल गर्न गाह्रो पर्छ । सामान्य हिँडडुल गर्न सक्छन् । कतै टाढा जानु पर्दा अरुकै सहारा चाहिन थालेको छ । सक्रिय राजनीतिबाट विश्राम लिइसकेका छन् ।
तत्कालीन बेलबारी गाविसका पूर्वअध्यक्ष शिव बराल २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट सांसद जितेका तामाङको संघर्षमय जीवनी निक्कै प्रेरणादायी रहेको बताउँछन् । ‘तामाङ माक्सवादको राम्रो दखल राख्ने नेता हुनुहुन्छ । एमालेको ब्यानरमा ३ पटकसम्म चुनाव जित्नु भयो । कम्युनिष्ट पार्टीमा आबद्ध भएर उहाँले पुर्याएको योगदान अतुलनीय छ,’ बराल भन्छन्, ‘हुन त उहाँलाई असफल राजनीतिज्ञ भन्दा हुन्छ । किनभने निष्ठाको राजनीति गर्ने मान्छे सधैं पछाडि पर्छभन्ने एउटा गतिलो उदाहरणका रूपमा हर्कमान तामाङलाई लिन सकिन्छ । तर, निष्ठा र आदर्शका प्रतिमूर्तिका रूपमा सबैले सधैं सम्मान गरिरहनुपर्ने व्यक्तित्व हुनुहुन्छ ।’

हर्कमान तामाङ ।
तामाङले चाहेको भए राम्रै कमाउन सक्थे । ३ पटकसम्म चुनाव जितेकै थिए । तर, व्यक्तिगत हिसाबले कमाउने भन्दा पनि समाजकै लागि योगदान दिन भूमिका खेलेकाले आजका दिनमा सबैले सम्मान गर्ने र सम्झिरहने राजनीतिज्ञको सूचीमा तामाङ पनि अटाउने अवस्था बनेको छ । राजनीतिक हिसाबले दाग लगाउने ठाउँ नभेटिने तामाङले निष्ठावान र निष्कलंक नेताको छवि बनाएको बराल बताउँछन् ।
बरालका अनुसार तामाङ लामो समयसम्म एमाले मोरङको सचिव भए । पार्टीको केन्द्रीय अनुशासन विभागमा बसेर १० वर्ष काम गरे । जीवनमा राजनीतिक मूल्य र मान्यताको खिलाफमा कुनै काम नगरेको बराल सम्झिन्छन् । दिनरात समाजकै लागि खट्ने तामाङको पारिवारिक जीवन भने सुखमय बन्न सकेन । पत्नी कृष्णकुमारी राईले सम्बन्धविच्छेद गरेर गएपछि एक्ला भए । अहिले छोरा बुहारीको आडभरोसा छ । परिवारमा उनीसहित छोरा, बुहारी र नातिनी छन् ।
बरालका अनुसार राजनीतिक मूल्य र मान्यतामा अडिग रहेर काम गर्नु तामाङको विशेषता नै हो । ‘परिवारभन्दा पनि समाजलाई बढी समय दिने र समाजलाई सधैं वर्गीय दृष्टिले हेर्ने तथा आफूले पाएको जिम्मेवारीलाई पूरा गर्ने उहाँको विशेषता हो । कुनै पनि काम हुन्न र सक्दिन नभनिकन सम्पन्न गर्नतर्फ ध्यान दिनु हुन्थ्यो । समाजमा गरिब तथा विपन्न उहाँको प्राथमिकतामा पर्थे । हरेक घटनालाई दर्शनशास्त्रीय आँखाले हेर्ने गर्नुहुन्छ,’ उनी भन्छन् ।
तामाङ भारतमा रहँदादेखि नै वामपन्थी आन्दोलनमा लागेका व्यक्ति हुन् । उनका पिता चन्द्रमान तामाङ ट्रेर्ड युनियनमा आबद्ध थिए । उनीबाटै हर्कमानले राजनीति सिके । पछि नेपाल फर्किएर पूर्णकालीन राजनीतिमा प्रवेश गरे । एमालेमा हुँदा र पछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेपछि पनि उनले मोरङ जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरे ।
एकीकृत समाजवादीमा हुँदा उनी पोलिटब्युरो सदस्य थिए । तर, पछिल्लो समय पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । बुढेसकालले छोपेर शारीरिक रूपमा कमजोर बनेसँगै राजनीतिक हिसाबले निष्क्रिय छन् । उत्तरी मोरङमा तत्कालीन मालेपछि एमालेको संगठन विस्तारमा तामाङको महत्वपूर्ण भूमिका रहेको पूर्वगाविस अध्यक्ष बराल बताउँछन् ।
सधैं गरिब तथा निमुखा जनताका लागि काम गरेका तामाङ राजनीतिका कारण कुनै विवादमा थिएनन् । र छैनन् पनि । सहारा नेपालका नाममा उनको चरित्रलाई केही धूमिल पार्ने काम भएको स्थानीयको बुझाइ छ । तर, त्यसमा तामाङको कुनै गलत मनसाय र कमजोरी भेटिएन ।
पूर्वगाविस अध्यक्ष बरालका अनुसार हर्कमान तामाङ नेपाली राजनीति र अझ वामपन्थीहरुका लागि १ जना सच्चा र आदर्श व्यक्ति हुन् । जालझेल, छलकपट केही नजान्ने र आफ्नै कर्ममा रमाउने दार्शनिक प्रवृत्तिका तामाङ एउटा सिंगो पाठशाला वा विश्वविद्यालय नै भएको उनको बुझाइ छ ।
नेपालको राजनीतिमा अहिले निष्ठावान नेताको खडेरी नै लागेको छ । राजनीतिलाई घृणित र प्रदूषित बनाउने काम नेताहरुले गरिरहेका छन् । मुलुकको विकास र समृद्धि गर्नेतर्फ ध्यान दिन छाडेर एकअर्कालाई लाञ्छना र आरोप लगाउन तँछाडमछाड चलिरहेको छ । नेपाली राजनीतिमा पछिल्लो समय बिर्सन लायक परिस्थितिहरु निर्माण भइरहेका छन् ।

तामाङले पनि अहिले बुढेसकाल लागेका कारण घरमै आराम गरेर बसिरहेको बताए । नेपालको राजनीतिक परिपाटी बिग्रदै गएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे । ‘म अहिले सक्रिय राजनीतिमा छैन । राजनीतिका नाममा पछिल्लो समय निक्कै अस्वस्थ्य प्रतिस्पर्धा हुन थाल्यो । त्यस्तो फोहोरी खेल मन नपराउने मैले मैदाल खाली गरिदिनु नै राम्रो ठानेर राजनीतिबाट विश्राम लिएको हुँ’ मुलुकी खबरसँग तामाङले भने ।
‘त्यतिबेला जोखिम मोलेर काम गर्नुपर्ने अवस्था थियो । अहिले लुछाचुँडी र मारामारको अवस्था छ । अहिले प्राप्तिबाहेक योगदान केही छैन । हिजो त पार्टीमा धेरै दुःख गर्नुपर्ने हुन्थ्यो,,’ उनी भन्छन्, ‘पाउने भन्ने कुरा केही थिएन । राजनीति गर्दा सबै कुराको सामना गर्न तयार हुनुपर्ने हुन्थ्यो । ज्यान जोखिममा राखेर काम गरियो । अहिलेजस्तो फोहोरी खेल हुँदैन थियो ।’
बुढ्यौलीले शरीर गलाउँदै लगेका कारण छोरा बुहारीकै आडभरोसामा सुखदुःख बसिरहेको उनले बताए । तामाङले भने, ‘केही समयदेखि उच्च रक्तचाप, प्रोस्टेटलगायतको औषधिसेवन गरिरहेको छु । उमेर पाकेपछि मान्छेलाई लाग्ने रोगहरु मलाई पनि लाग्यो । तर, धेरै औषधि त सरकाले निःशुल्क गरिदिएकै छ । अलिअलि किन्नुपर्छ ।’
‘उपद्रष्टा हर्कमान’
तामाङको बारेमा पत्रकार तथा अनुसन्धाता केशु विरहीले ‘उपद्रष्टा हर्कमान’ नामक पुस्तक लेखेका छन् । विरही तामाङलाई राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक व्यक्तित्व भन्न रुचाउँछन् । तामाङको जीवनीपरक अध्ययन गरिएको उक्त पुस्तक प्रजातन्त्र दिवस (फागुन ७ गते)को अवसर पारेर बुधबार बेलबारीमा लोकार्पण गरिँदै छ ।
विरहीका अनुसार ‘उपद्रष्टा हर्कमान’ अनुसन्धानपरक (शोधमूलक) कृति हो । अग्रज स्रष्टा तामाङको जीवनीका विभिन्न पाटाहरूको वृहत् अध्ययन गरेर पुस्तक तयार पारिएको उनको भनाइ छ । उनका अनुसार विभिन्न ५ खण्ड (५ अध्याय) मा विभाजन गरेर तयार पारिएको कृतिमा हर्कमान तामाङको जीवनी, व्यक्तित्व र कृतित्व आदिका बारेमा व्यापक अध्ययन एवं विश्लेषण गरिएको छ । तामाङको जीवन भोगाइका पाटाहरुको चर्चा गरिएको छ ।

‘पुस्तकमा २०४५ सालमा प्रकाशित तामाङको ‘ब्रुनोको देश’मा नामक कथा संग्रहलाई तत्वका आधारमा विश्लेषण गरिएको छ,’ विरही भन्छन्, ‘तामाङले कलम चलाएका कविता, उपन्यास तथा निबन्ध विधाका बारेमा समेटिएको छ ।’ उनी अग्रजलाई सम्मान गर्दै उनीहरूको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तण गर्न सहयोगी हुने देखेर आफूले पुस्तकमार्फत हर्कमान तामाङको जीवनी बाहिर ल्याएको बताउँछन् ।
राजनीतिका अतिरिक्त नेपाली साहित्यको आख्यान विधामा तामाङको विशेष योगदान रहेको साहित्यकार नवराज पोखरेल ‘नवशिला’ बताउँछन् । तामाङका कविता, कथा र उपन्यास गरेर ३ वटा कृति प्रकाशित छन् । उनको साहित्यिक योगदानले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुगेको पोखरेलको भनाइ छ ।
पुस्तक बेचेर अक्षयकोष
पत्रकार एवं अनुसन्धाता विरहीले ‘उपद्रष्टा हर्कमान’ नामक पुस्तक बेच्दा आएको रकमको ५० प्रतिशतले बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । अक्षयकोषबाट प्राप्त ब्याजले अनुसन्धानका क्षेत्रमा काम गर्ने विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने योजना छ । ‘पुस्तक बिक्रीबाट आएको रकमले अक्षयकोष बनाउने योजना छ । त्यसका लागि अभियान चलाएको छु,’ उनले भने ।
बेलबारीमा रहेर झन्डै ३ दशकदेखि पत्रकारिता गरिरहेका विरही अनुसन्धानका माध्यमबाट ओझेलमा रहेका लेखक तथा स्रष्टालाई बाहिर ल्याउने र नयाँ पुस्तामा अनुसन्धानको आकर्षण बढाउने अभियानमा छन् । तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङ, दोरपमा जन्मिएका उनी माता मदनदेवी गिरी र पिता घनश्याम गिरी ज्योतिषीका पाँचौं सन्तान हुन् ।

पत्रकार तथा अनुसन्धाता केशु विरही ।
नेपाली साहित्यका कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समीक्षा–समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीले यसअघि ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन–२०५६, ‘आमाको माया’ (उपन्यास)–२०५७, ‘सुस्केरा’ (सामूहिक संकलन)–२०६२, ‘दन्किएको आगो (गजल संग्रह)–२०६३, ‘भास्कर वंशावली (वंशावली)–२०६५, ‘सुलोचना (कथा संग्रह)–२०७१, ‘रेस्माको सेन्डल’ (बालकथा संग्रह)–२०७७ जस्ता आधा दर्जनभन्दा बढी कृति बजारमा ल्याइसकेका छन् ।
विरहीका ‘बेलबारीको साहित्यिक इतिहास’–२०७९, ‘तेह्रथुमको साहित्यिक इतिहास’–२०८० र ‘उपद्रष्टा हर्कमान तामाङ’–२०८१) जस्ता अनुसन्धानमूलक कृतिले ओझेलमा रहेका लेखक तथा स्रष्टालाई बाहिर ल्याउने काम गरेको छ । एमए बीएड्सम्मको औपचारिक शिक्षा लिएका उनी पछिल्लो समय अनुसन्धानमा व्यस्त छन् । ‘अनुसन्धानको क्षेत्र निकै व्यापक छ । आवश्यकता पनि उस्तै छ । धेरै मानिसहरूको यसमा आकर्षण छैन । तर, मैले यसैलाई विधा बनाएको छु,’ उनले भने । अरू पेसा गर्दै अनुसन्धानका काम पूरा गर्न सहज नहुने उनको भनाइ छ ।
अनुसन्धान विधा निकै खर्चिलो विधा मानिन्छ । समय र ठूलो धनराशि खर्च हुने हुनाले यस विधामा आउनेको संख्या निक्कै कम छ । तर, विरही भने मुख्य स्रोतमै पुगेर अनुसन्धान गर्न मन पराउँछन् । सम्बन्धित स्रोतमै पुगेर कुनै पनि विषयका बारेमा खोजी गर्नु र त्यसलाई बाहिर ल्याउनु उनको विशेषताजस्तै बनेको छ ।
अनुसन्धान कार्य निकै जटिल भएको जान्दा जान्दै आफू यसतर्फ लागेको विरही बताउँछन् । उनी भन्छन्, ‘यो विधा जटिल तथा खर्चिलो हुँदाहुँदै यसमा लागेको हुँ । र रमाइरहेको पनि छु ।’ मोरङको सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिकाका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको जीवनीपरक अध्ययन गरिरहेका विरही अनुसन्धान सहज नभए पनि असम्भव भने नभएको बताउँछन् ।

‘विश्व अनुसन्धानका माध्यमबाट कहाँदेखि कहाँ पुगिसक्यो । नेपालमा भने यसको महत्व बुझाउन गाह्रो छ,’ उनले भने । हामी भाषणबाजीमा मात्रै केन्द्रित हुँदा तथ्य र तथ्यांकसहितको वास्तविक चित्र बाहिर आउन नसकिरहेको उनले बताए । मुलुकमा गलत राजनीतिको प्रभाव बढेको बताउँदै विरहीले युवा पुस्तामा खोज अनुसन्धानप्रति आकर्षण पैदा गराउने अभियानमा आफू रहेको सुनाए ।
सामाजिक सञ्जालको सहयोग लिएर उनकै अगुवाइमा तेह्रथुमको आठराईस्थित जलकन्या आधारभूत विद्यालयमा ६ लाख बराबरको अक्षयकोष खडा गरिएको थियो । विरहीले त्यही विद्यालयबाट प्राथमिक तहको शिक्षा लिएका थिए । उनी आफ्ना पुस्तक अग्रिम भुक्तानी (प्री–बुकिङ) विधिमार्फत बाहिर ल्याउने गर्छन् । जसले गर्दा उनलाई राज्यका निकायसँय त्यति आश्रित हुनु परेको छैन ।
‘बेलबारीको साहित्यिक इतिहास’ तथा ‘तेह्रथुमको साहित्यिक इतिहास’मा उनले यही विधिको अवलम्बन गरेका थिए । अनलाइनबाटै बिक्री भएका दुवै कृतिबाट राम्रो कमाइ पनि भयो ।
बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला विरहीको अभियान सकारात्मक रहेको भन्दै प्रशंसा गर्छन् । अनुसन्धानका क्षेत्रमा आउन चाहने युवाका लागि यस अभियानले अभिप्रेरणा जगाउने उनको भनाइ छ । बेलबारी नगरपालिका शिक्षा शाखाका पूर्वप्रमुखसमेत रहेका कोइराला अनुसन्धानका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका विरहीले नयाँ पुस्तामा अनुसन्धानप्रति आकर्षण बढाउने अभियान चलाएको बताउँछन् ।
साहित्यकार नवराज पोखरेल ‘नवशिला’ विद्यार्थीहरूमा खोज तथा अनुसन्धानप्रति अभिप्रेरणा जगाउने उद्देश्यले अक्षयकोषको अवधारणा अघि सारिनु सकारात्मक भएको बताउँछन् । यस्ता अभियानले समाजलाई सकारात्मक बाटोतर्फ लैजाने पोखरेलको भनाइ छ ।




















