सिजन गुरुङले ज्यान मुद्दाका अभियुक्तलाई बनाए तरुण दल इटहरीको अध्यक्ष

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १०, बुधबार १४:०४
फोटो क्याप्सन : तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ र उनले घोषणा गरेको तरुण दल इटहरीको नयाँ कार्यसमितिमा रहेकाहरु ।

विराटनगर । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल सुनसरीको विवाद उत्कर्षमा पुगेको छ ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले तरुण दलको इटहरी उपमहानगर समितिलाई आफ्नो कब्जामा लिएर अवैधानिक हिसाबले नयाँ कार्यसमिति बनाएको भन्दै विरोध भएपछि विवाद बाहिर आएको हो । इटहरी उपमहानगरपालिका–२० तरहरा घर भएका गुरुङ कांग्रेसको महाधिवेशन प्रतिनिधि र कोशी प्रदेश सदस्यसमेत हुन् ।

गुरुङमाथि कांग्रेसको आवरणमा गुण्डागर्दीको राज चलाएको आरोप लाग्ने गरेको छ । पार्टीभित्रको संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर उनीमाथि विधिविधान मिचेर गतिविधि गरिरहेको आरोपसमेत थपियो । गुरुङले अपराधिक पृष्ठभूमिका युवालाई विधानविपरीत तरुण दलमा पदीय जिम्मेवारी दिएको पनि फेला परेको छ ।

उनले नेपाल तरुण दलको चौथो अधिवेशनबाट २०७३ मा निर्वाचित इटहरी उपमहानगर कार्यसमितिलाई कुनै जानकारी नदिइकन नयाँ नगर समिति गठन गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वैशाख ८ गते सोमबार नेपाल तरुण दल इटहरी उपमहानगर समिति तथा अन्य समिति गठन भएको सार्वजनिक गरेका थिए ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ । 

तरुण दल इटहरीले भने विज्ञप्ति जारी गरेर गुरुङको घोषणा विधानविपरीत रहेको जनाएको छ । ‘कुनै पनि सूचना नदिइकन तरुण दलको विधानविपरीत नगर समितिको अधिकारमाथि हस्तक्षेप गर्नु अवैधानिक हो,’ तरुण दल इटहरीका वर्तमान अध्यक्ष विष्णु खत्री र सचिव बादल दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नेपाल तरुण दल इटहरी उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’

गुरुङले ज्यान मुद्दाका अभियुक्त इटहरी–९ का गोरे भनिने अनिष सुवेदीको अध्यक्षतामा तरुण दल इटहरीको नयाँ कार्यसमिति घोषणा गरेका हुन् । प्रहरीका अनुसार सुवेदीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलेको थियो । उनी झुम्का कारागारसमेत चलान भएको प्रहरीको भनाइ छ । २०८१ साल भदौमा ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका सुवेदी केही समयअघि मात्रै छुटेको प्रहरी स्रोतले बतायो ।

सुवेदीको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा मनिष चौधरी, सचिवमा सविन निरौला, सह–सचिवाम विक्रम चौधरी र कोषाध्यक्ष स्मारिका सुवेदी छन् । १९ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको जानकारी गुरुङले दिए ।

इटहरी उपमहानगरमा २० वटा वडा छन् । तरुण दलको उपमहानगर अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि चयन हुनुपर्छ । तर, कुनै पनि वडाबाट प्रतिनिधि चयन नगरिकन र तरुण दलको उपमहानगर समिति तथा पार्टीलाई समेत थाहा नदिइकन एक्कासि फेसबुकमार्फत नयाँ कार्यसमिति घोषणा गरिएको खत्रीले बताए ।

उनका अनुसार तरुण दलको विधान अनुसार वडा अधिवेशन नगरिकन नगर अधिवेशन गर्न मिल्दैन । ‘नगर अधिवेशनका प्रतिनिधि नै वडाबाट छानिएर आउनुपर्ने हुन्छ । प्रतिनिधि भित्रबाटै नयाँ कार्यसमिति चयन हुने हो । पाँचौं नगर अधिवेशनका लागि वडा अधिवेशन गर्न खोज्दै थियौं । तर, नगर समितिलाई थाहै नदिइकन नयाँ समिति घोषणा हुँदा हामी अचम्ममा परेका छौं,’ खत्रीले भने ।

उनले भ्रातृ संस्थाको अधिवेशन विधिगत रूपमा हुनुपर्ने बताए । ‘मेरो नेतृत्वको तरुण दलले विधान अनुसार काम गरिरहेको छ । वडाहरुमा पूर्णकालीन सदस्यता वितरणको काम भइरहेको थियो । सदस्यता वितरण र वडा अधिवेशन सकेर उपमहानगर अधिवेशन गर्ने योजना थियो । तर, अवैधानिक हिसाबले हस्तक्षेप गरेर कार्यसमिति गठन गरेको थाहा भयो । यसले हाम्रो मानमर्दन भएको छ,’ उनी भन्छन् ।

तरुण दलका १ सदस्य संगठनलाई पार्टीको जस्तै गुटको सिकार बनाउन खोजिएको बताउँछन् । कार्यसमितिमा भएकाको मानहानि गर्दै गुरुङले एकलौटी गरेको उनको भनाइ छ । तरुण दलका ती सदस्यले पार्टीभित्रको गुटलाई तरुण दलमा देखाउन खोजिनु गलत भएको बताए ।

‘गुरुङले प्रतिनिधिबिना नै पार्टीको भ्रातृ संगठनको उपमहानगर समिति गठन गरेको र पार्टीका नेतालाई समेत थाहा नदिएको पाइयो । अपराधमा जोडिएका र आफ्ना आसेपासेलाई कार्यसमितिमा राखिएको छ । गुरुङको गतिविधिले तरुण दललाई भाँड्ने र विवाद बढाउने काम भयो । राजनीतिमा सक्रिय नभएका र गुण्डागर्दी एवं अपराधमा लागेकालाई समितिमा राखिएको छ,’ उनले भने । उनका अनुसार गुरुङले तरुण दललाई गुण्डाहरुको संगठन बनाउने प्रयास गरिरहेका छन् ।

तरुण दलको नेतृत्वमा गलत मान्छेलाई ल्याउँदा पार्टीको सिंगो अभियानलाई नै असर पर्ने कतिपयको बुझाइ छ । तरुण दलका जिल्ला अध्यक्ष गुरुङ पार्टीभित्रको इतर अर्थात डा. शेखर पक्षधर र तरुण दलका उपमहानगर समिति अध्यक्ष खत्री संस्थापन अर्थात शेरबहादुर देउवा पक्षधर हुन् ।

गुण्डागर्दीका माध्यमबाट विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा गुरुङ यसअघि बारम्बार पक्राउ परेका छन् । पछिल्लोपटक उनी २०७५ साल जेठ ११ गते गुण्डागर्दीको आरोपमा पक्राउ परेका थिए । आफ्नो कर्तुत लुकाउन कांग्रेसमा सक्रिय रहेका गुरुङ गुण्डागर्दी गर्ने, व्यापारी र सर्वसाधारणलाई धाकधम्की दिने, असुली धन्दा मच्चाउने, ठेक्का कब्जा गर्ने जस्ता विवादमा बारम्बार मुछिने गरेको तरुण दलका सदस्यहरु बताउँछन् ।

तरुण दलले खोज्यो पार्टीको सहयोग

गुरुङले संगठनभित्र मनपरी गर्न थालको भन्दै तरुण दलको इटहरी उपमहानगर समितिले पार्टीको सहयोग खोजेको छ । पार्टीले यथाशीघ्र छलफल गरी गुरुङको अवैधानिक कदम र विवादलाई टुंगो लगाइदिनुपर्ने मागसमेत तरुण दलको छ ।

गुरुङले आधिकारिक समितिलाई थाहै नदिइकन नयाँ कार्यसमिति घोषणा गरेपछि अध्यक्ष विष्णु खत्री र सचिव बादल दाहालले विज्ञप्ति जारी गर्दै नगर समितिको अधिकारमाथि गुरुङले विधानविपरीत हस्तक्षेप गर्नु अवैधानिक भएको उल्लेख गरेका छन् ।

तरुण दल इटहरीको पाँचौं अधिवेशन गर्नलाई वडा अधिवेशनको तयारी भइरहेका बेला जिल्ला कार्यसमितिको अवैधानिक कदमले नेपाल तरुण दलको अभियानलाई मात्र नभएर समग्र नेपाली कांग्रेसकै अभियानलाई असर पार्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमार्फत गुरुङको गतिविधिको भत्र्सना र विरोधसमेत गरिएको छ ।

‘जिल्ला समितिको अवैधानिक कदमलाई नेपाली कांग्रेस पार्टीले यथाशीघ्र छलफल गरी विधि, विधान र नियमसंगत कार्य गर्नेगरी विवादलाई टुंगो लगाउन पहल गरिदिनुहुन उपमहानगर कार्यसमिति परिवार हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पार्टीलाई पत्र नै पठाएर गुरुङको अवैधानिक कामको जानकारी गराइएको खत्रीले बताए ।

गुरुङले भने तरुण दलको केन्द्रीय कार्यसमितिले चैत ३१ गतेसम्म सबै जिल्ला तथा आफू मातहतको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएर पत्राचार गरेको बताउँछन् । केन्द्रकै निर्देशन अनुसार पार्टीको वडा र पालिका अधिवेशन गरिएको उनले बताए ।

‘तरुण दल सुनसरी जिल्ला कार्यसमितिले बैठक बसेर चैत २६ गतेसम्म सबै पालिकाको अधिवेशन गरिसक्नु भनेर पत्र पठाइएको थियो । जिल्लाका १२ वटा पालिकाका केहीका अध्यक्षहरु सम्पर्कविहीन भएर बसे । फेरि बोलाएर वैशाख २ गतेसम्म गरिसक्नु भन्यौं । बाध्यात्मक परिस्थितिले अधिवेशन लम्बिएमा चाँडोभन्दा चाँडो गर्नु भनिए पनि कतिपयले वास्तै गरेनन्,’ गुरुङले भने ।

तरुण दलका पालिका अध्यक्षहरु सम्पर्कमा नआएमा जिल्ला समितिले प्रतिनिधि पठाएर अधिवेशन सम्पन्न गर्न केन्द्रले निर्देशन दिएको र त्यही अनुरुप अधिवेशन गरिएको उनको भनाइ छ । ‘अधिवेशनबाट बनेको कार्यसमिति कुनै हालतमा अवैधानिक हैन । संगठनमा बसेर माथिल्लो तहको निर्देशन पालना नगर्ने र अधिवेशन सकिएपछि अवैधानिक भनेर विवाद झिक्ने काम भयो,’ गुरुङ भन्छन् ।

ज्यान मुद्दाका अभियुक्तलाई नेतृत्वमा ल्याएको विषयमा गुरुङले अभियोग लागेकै भरमा कसैलाई पनि रोक्न नहुने बताए । उनले भने, ‘अन्य पार्टीमा पनि विभिन्न अभियोग लागेकाहरु छन् । अभियोग लागेकै भरमा नेतृत्वमा पुग्नबाट रोक्नुपर्छ भन्ने छैन । सम्बन्धित निकायबाट आरोप पुष्टि भयो भने पार्टीको विधान अनुसार निर्णय भइहाल्छ । यसलाई अन्यथा मान्न हुँदैन ।’

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×