विराटनगरमा कानुनविपरीत वित्तीय कारोबार, सुनचाँदी पसल सञ्चालक पक्राउ

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ माघ २६, शनिबार २०:२१

विराटनगर । विराटनगरमा सुनचाँदी पसल (ज्वेलर्स)बाट कानुनविपरीत वित्तीय कारोबार भइरहेको पाइएको छ ।

वित्तीय संस्था तथा बैंकबाट गर्नुपर्ने कारोबार लामो समयदेखि सुनचाँदी पसलबाट भइरहे पनि नियमन र नियन्त्रणका लागि सम्बन्धित निकायले चासो दिएका छैनन् । वित्तीय संस्थाजस्तै ‘पास बुक’ राखेर ज्वेलर्सबाट गरिने कारोबारका कारण सर्वसाधारणको लाखौं रूपैयाँ जोखिममा परेको छ । कतिपयको ठूलो रकम डुबेको छ ।

Advertisement

वित्तीय कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । सुनचाँदी पसलले यो कारोबार गर्नै पाउँदैनन् । तर, विराटनगरका सुनचाँदी पसलले भने अवैध रूपमा यस्तो कारोबार गरिरहेका छन् ।

सुनचाँदीको कारोबार गर्ने अनुमति लिएका पसलहरुले अवैध हिसाबको वित्तीय कारोबार गरिरहेको प्रहरी स्रोतले बतायो । विराटनगरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका एक जना पक्राउ परेपछि ‘ज्वेलर्स’बाट गैरकानुनी रूपमा आर्थिक एवं वित्तीय कारोबार हुने गरेको प्रष्ट भएको छ ।

विराटनगर महानगरपालिका–७ मेन रोडमा चाँदनी गहना सो–रुम नाम दिएर सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय पवन श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार विराटनगर–८ घर भएका श्रेष्ठ केही समयदेखि फरार थिए ।

‘पास बुक’मार्फत वित्तीय कारोबार गरी सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर फरार भएका श्रेष्ठलाई माघ २१ गते सुनसरीबाट पक्राउ गरिएको जोशीले बताए । पसल नै बन्द गरेर भागेका श्रेष्ठबाट ठगीमा परेको भन्दै हालसम्म ११ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइसकेका छन् । उनीहरुबाट ८६ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ ।

‘सर्वसाधारणलाई आकर्षक ब्याजको लोभ देखाएर सुनचाँदी पसलबाटै वित्तीय कारोबार गर्ने गरेको पाइयो । लाखौं रूपैयाँ खाएर पसल सञ्चालक फरार बनेपछि पीडितहरुले जाहेरी दिएका हुन् । खोजतलास गरी पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ,’ उनले भने । डीएसपी जोशीका अनुसार श्रेष्ठले एकै व्यक्तिबाट १९ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ ।

‘श्रेष्ठबाट ठगीमा पर्नेको संख्या ठूलो छ । अझै पनि धमाधम उजुरीहरु आइरहेको छ । जाहेरी लिएर कारबाहीको थप प्रक्रिया अघि बढाइएको छ,’ उनी भन्छन् । ज्वेलर्स सञ्चालक श्रेष्ठबाट ठगिने अरु कोही पीडित भएमा उजुरी दिन प्रहरीले आह्वान गरेको छ ।

श्रेष्ठले अवैध वित्तीय कारोबारमार्फत सर्वसाधारणको करोडौं रूपैयाँ ठगी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अनुमति बिना वित्तीय कारोबार गरेका उनीविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी जोशीको भनाइ छ ।

उनका अनुसार सुनचाँदी पसलबाट त्यसरी कारोबार गर्नै मिल्दैन । श्रेष्ठविरुद्ध पहिलोपटक माघ ३ गते जाहेरी परेको थियो । त्यसपछि अरु पीडितहरुले उनीविरुद्ध जाहेरी दिएका हुन् । प्रहरीका अनुसार सुन पसल देखाएर अवैध हिसाबले वित्तीय कारोबार गरी सर्वसाधारणबाट ठगी गरेको रकम भने श्रेष्ठले घरजग्गा खरिदलगायतका व्यक्तिगत प्रयोजनमा खर्च गरेको पाइएको छ ।

‘सर्वसाधारणले अलि धेरै ब्याज पाउने लोभमा सुनचाँदी पसलमा पैसा राख्ने गरेको पाइयो । यो गैरकानुनी हो,’ डीएसपी जोशी भन्छन् । सुनचाँदी पसलबाट वित्तीय कारोबार गर्न नहुनेमा सबै सचेत रहनुपर्ने र त्यस्तो कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै गर्नुपर्ने उनले बताए ।

सुनचाँदी पसलबाट अवैध हिसाबले गरिने वित्तीय कारोबार सर्वसाधारणका लागि अति नै जोखिमपूर्ण हुन्छ । ‘बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्दा झन्झट हुने भनेर सर्वसाधारणले सुनचाँदी पसल रोज्ने गरेको पाइयो,’ प्रहरी स्रोलते भन्यो, ‘छिटोमिठोका लागि त्यस्तो गर्दा रकम डुबिरहेको हुन्छ ।’

प्रहरीका अनुसार कारोबारका नाममा सर्वसाधारणको पैसा डुबाएर पसल सञ्चालक फरार हुने गरेको कतिपय घटनाबाट पुष्टि भएको छ । सुरक्षाका दृष्टिकोणले गैरकानुनी र जोखिमपूर्ण हिसाबले वित्तीय कारोबार नगर्न प्रहरीले सबैमा आह्वान गरेको छ । ब्याजको लोभमा पैसा जम्मा गर्दा सुरक्षित नहुने भन्दै प्रहरीले सुनचाँदी पसलबाट यस्तो कारोबार भइरहेको पाइएमा गोप्य हिसाबले सूचना दिन पनि आग्रह गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभूषण शाहले सुनचाँदी पसलबाट वित्तीय कारोबार हुने गरेको कुरा आफूलाई थाह नभएको बताए । सुनचाँदी पसलबाट सुन र चाँदीलगायतका धातुजन्य वस्तुको खरिद बिक्रीका साथै गहना बनाउने र मर्मत सम्भार गर्न मात्रै पाइने उनको भनाइ छ । ‘सुनचाँदी पसलबाट वित्तीय कारोबार गर्नु गैरकानुनी हो । त्यस्तो गर्नै पाइँदैन,’ शाह भन्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.