लोकतन्त्र दिवस : कसले बुझ्ने नागरिकका दुःख ?

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ११, बिहीबार ०९:३६

सबैको मुहार उज्यालो । घर, टोल, गाउँ–बस्ती अनि सहरमा बेग्लै उमंग र उत्साह । जनजनमा ऊर्जामय हुटहुटी । एकअर्कालाई सहयोग । सामाजिक सद्भाव । हक अधिकारले सुसज्जित सबैमा मुलुकप्रतिको उच्च कर्तव्यबोध ।

हो, यस्तै दृश्यसहितको अवस्था हुनुपर्थ्यो आज (वैशाख ११ गते) लोकतन्त्र दिवसको दिन । अपूर्व उत्साह हुनुपर्थ्यो । ‘समृद्धि’ ले सम्पन्न हुनुपर्थ्यो । नभए पनि त्यस दिशातिर उन्मुख हुनुपर्थ्यो । तर, विडम्बना अस्थिरता, विकृति, अव्यवस्था, खिचातानी, सुशासनको खडेरीजस्ता घटनाक्रमहरुको साक्षी बन्नु परेको सबैलाई थाहा छ । आशा र अपेक्षाका दृश्य कल्पनामै सीमित भइरहेको छ ।

Advertisement

आज १९ औँ लोकतन्त्र दिवस । यसै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद्को पुनःस्थापना गरी जनताको नासो जनतालाई नै फिर्ता गरेको र आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेका थिए । २०६१ वैशाख ११ को यही सन्दर्भ स्मरण गरी लोकतन्त्र दिवस मनाइन्छ ।

दिवस त मनाइन्छ । तर, यो सरकारी औपचारिक कार्यक्रममा र राजनीतिक दलका देखासिखीमा हुने कार्यक्रममा मात्र सीमित बनिरहेको छ । आम जनतामा यो दिवसप्रति अपेक्षित रुपमा उत्साह देखिन सकेको छैन । यो यसै हचुवाका भरमा भनिएको कुरा होइन । कुनै सार्वजनिक स्थानमा एकैछिन बसेर केही बटुवाहरुकै धारणा बुझ्न खोज्ने हो भने पनि प्रष्ट भइहाल्छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते ‘नेपाल अधिराज्यको संविधान २०४७’ मा नभएको व्यवस्था प्रयोग गरेर आफू देशको कार्यकारी प्रमुख भएको स्वघोषणा गरेका थिए । आफ्ना मातहतमा मन्त्रिपरिषद्का २ जना उपाध्यक्ष राखेर शासन व्यवस्थाको सुरुआत गरेका थिए । संविधानले राजालाई संवैधानिक हैसियतमा राखेको भए पनि उनी स्वघोषित कार्यकारी प्रमुख बनेका थिए ।

यसले राजनीतिक दलहरुमा विद्रोह जन्मायो । उनीहरु आन्दोलित भए । जनताले सक्दो साथ दिए । सरकार दमनमा उत्रियो । त्यसै बेलादेखि मुलुकमा राजाको विकल्पबारे आवाज उठ्न थाल्यो । यो आवाज बुलन्द बन्दै गएर अन्ततः देशबाट राजतन्त्रको अन्त्य गर्नुपर्ने नारा बन्यो ।

आन्दोलनबाट राजाको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपाल निर्माणका लागि राजनीतिक दलहरुले अघि बढाएको खाकालाई अन्तिम रुप दिएको यो दिनलाई नयाँ नेपाल निर्माणको सुरुआती दिनका रुपमा पनि लिइने गरिएको थियो ।

७ राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२–०६३ को जनआन्दोलन सफल बन्यो । तत्कालीन ७ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भारतको दिल्लीमा भएको १२ बुँदे सम्झौताले माओवादीहरु सशस्त्र विद्रोहको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आए ।

त्यही सम्झौताअनुसार मुलुकमा राजनीतिक आन्दोलन भयो । र अन्ततः २०६२–०६३ को जनआन्दोलनका बलमा तत्कालीन राजा पछि हट्न बाध्य भए । आफू देशको कार्यकारी प्रमुखका रुपमा नरहेको घोषणा गरी नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरे ।

यसरी वैशाख ११ लाई आजसम्मका उपलब्धिहरुको जग बसाल्ने दिनका रुपमा लिइन्छ । मूलतः वैशाख ११ लाई मुलुकमा गणतन्त्र स्थापनाका लागि बिजारोपण गर्ने दिनका रुपमा पनि लिन सकिन्छ ।

त्यसयता धेरै राजनीतिक परिवर्तन भए । मुलुकको संरचना नै बिलकुल फरक बन्यो । केन्द्रीकृत राज्यसत्ता विकेन्द्रित भयो । सैद्धान्तिक रुपमा विकेन्द्रित भए पनि व्यावहारिक रुपमा यसको असर सोचेजस्तो देखिन सकेको छैन भनेर टिप्पणी र आलोचना बढेको छ । असन्तुष्टि चुलिन थालेको छ भन्दा अत्युक्ति हुँदैन ।

आन्दोलन सफल भएपछि समयक्रममा माओवादी शान्ति प्रक्रियामा आयो । संविधानसभा निर्वाचन भयो । त्यसपछि २४० वर्ष पुरानो राजसंस्था विधिवत् रुपमा अन्त्य भयो । नयाँ संविधान जारी भयो । देशमा नयाँ राजनीतिक प्रणालीको सुरुआत भयो । मुलुकको राष्ट्रप्रमुखमा राष्ट्रपति हुने व्यवस्था भयो ।

राजनीतिक उपलब्धिहरु त धेरै हासिल भए । तर, तिनलाई संस्थागत गर्ने काम प्रभावकारी हुन सकेको छैन । त्यसैले अहिले व्यवस्थाप्रति, सरकारप्रति, राजनीतिक दलहरु प्रति नै प्रश्नहरु उठिरहेका छन् । जनतामा अनेक कारणले असन्तुष्टि बढेको छ । यही मेसोमा उनै पूर्वराजा ज्ञानेन्द्रमा फेरि राजा हुने लालसा देखिएको छ । उनकै मुखबाट पटक–पटक यो कुरा सार्वजनिक भइसकेको छ ।

लोकतन्त्र या प्रजातन्त्र जे भने पनि नेपालमा पहिले पनि २ पटक यस्तो परिवर्तन भएको हो । राणा शासनको अन्त्यका लागि नेपाली जनताले गरेको क्रान्तिको परिणामस्वरुप २००७ सालमा पनि नेपाली नागरिकले राणाशासनबाट मुक्ति र प्रजातान्त्रिक व्यवस्था प्राप्त गरेका थिए । त्यो व्यवस्था २०१७ मा तत्कालीन राजा महेन्द्रले सकिदिए ।

त्यसपछि मुलुकले पञ्चायत व्यवस्था ब्यहोर्यो । त्यसको ३० वर्षपछि जनआन्दोलन भयो र आन्दोलनमार्फत २०४६ मा राजाको सक्रिय व्यवस्था रहेको प्रावधान हटाएर नेपाल अधिराज्यको संविधान, २०४७ ले संवैधानिक भूमिकाको राजतन्त्रको व्यवस्था गरेको थियो ।

पछिल्लो अवस्थामा व्यवस्था र प्रणाली ठीक मानिए पनि सरकारका अभ्यासहरु जनकेन्द्रित हुन नसकेकै कारण असन्तुष्टि चुलिन थालेको हो । जनताले आफ्ना घर आँगनका सरकारबाट के–कस्ता फाइदा लिन सकिरहेका छन् हिसाबकिताब हुन थालेको छ ।

आफैँले संघर्ष गरेर ल्याएको शासकीय उपलब्धिहरुप्रति नागरिकले अपनत्व महसुस गर्न सकेका छन् कि छैनन् ? भन्ने कुनै राजनीतिक दलले बुझ्न खोजेको देखिँदैन । जनताको जीवनस्तरमा सुधार भयो कि भएन ? लोकतन्त्र दिवसको अवसरमा यो अवस्थाको पनि मूल्यांकन जरुरी छ ।

तपाइको प्रतिक्रिया
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×