
विराटनगर । सुनसरी इटहरीको व्यापारिक मल ‘सेन्ट्रल प्लाजा’ले आगलागीबाट पुगेको क्षतिको बिमा भुक्तानीका लागि शंकास्पद हिसाबले दाबी गरेको पाइएको छ ।
रहस्यमय आगलागीको क्षतिको विवरण सार्वजनिक गर्न नै ‘सेन्ट्रर प्लाजा’ले झन्डै १ महिना लगाएको थियो । प्लाजाले १६ करोड रूपैयाँ बराबरको क्षति भएको भन्दै बिमा सिफारिसका लागि अस्वाभाविक दाबी गरेर वैशाख ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएको छ ।
उक्त निवेदनले प्रहरीलाई नै आश्चर्यचकित बनाएको छ । अस्वाभाविक बिमा सिफारिसको निवेदनले अन्योलमा पारेको छ । यद्यपि, सिफारिस दिइसकिएको छैन । सिफारिसका लागि परेको निवेदन शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हालसम्म विकसित घटनाक्रमले आगलागी नियोजित थियो भन्ने आशंकालाई बल पुर्याएको छ ।
प्रायः व्यवसायीले आफ्नो व्यवसायको सुरक्षाका लागि इन्स्योरेन्स (बिमा) गर्ने गर्छन् । तर, यसको दुरुपयोग पनि उत्तिकै बढ्दो छ । यो घटनाको क्षतिको विवरणले कतै बिमाकै लागि त आगलागी गराइएन ? भन्ने आशंकालाई बलियो बनाएको छ ।
सुरुवातदेखि नै अनेकौं आशंका गरिएको घटनालाई बिमा दाबीको सिफारिसले थप रहस्यमय बनाउँदै लगेको हो । इटहरी चोकको उत्तर–पूर्व प्लाजाको १० तले भवन छ । प्लाजाको मुख्य कार्यालय रहेको पाँचौं तलामा गत चैत १३ गते आगलागी भएको थियो । आगलागी भएको भवनमा सिनेमा हल, होटल, विभिन्न पसल र हलहरु छन् ।
पाँचौं तलाको उत्तरतर्फ ‘क्यूएफएक्स फिल्म हल’ छ । हलको ‘वेटिङ रुम’, ‘क्याफे’ र ‘अफिस एरिया’मा आगोले राम्रै क्षति गरेको प्रहरीको भनाइ छ । हलमा क्षति पुगेको छैन । प्रहरीका अनुसार छैटौं तलाको बरन्डा होटलको रेस्टुरेन्टमा समान्य क्षति पुगेको छ ।
प्लाजाको सातौं, आठौं र नवौं तलामा रहेका होटलका कोठाहरु धुवाँ लागेर कालो भएका थिए । त्यसबाहेक अरु क्षति भएको नदेखिएको प्रहरी स्रोतले बतायो । प्रहरीले प्लाजाका सञ्चालकसँग पटकपटक क्षतिको विवरण माग गरेको थियो । तर, उपलब्ध गराइएन ।
आगलागी भएको २७ औं दिनमा वैशाख ९ गते १६ करोड बराबरको क्षति भएको भन्दै बिमा सिफारिसका लागि प्रहरीमा निवेदन पर्यो । निवेदनमा सर्वेयरको प्रतिवेदन पेस गरिएको छैन । घटना शंकास्पद देखिएकाले बिमा सिफारिसका लागि सर्वेयरको प्रतिवेदनसहितको निवेदन प्रहरीले अपेक्षा गरेको थियो ।
समयमै क्षतिको विवरण प्रहरीलाई प्राप्त नहुनु, भित्रभित्रै अनेक खेल भइरहेको चर्चा हुनु, क्षतिको मूल्यांकन गर्न २७ दिनसम्म लाग्नु, प्रहरीको उपस्थिति बिना नै मूल्यांकन गरिनु र अस्वाभाविक बिमा दाबी गर्नु लगायतले घटनालाई शंकास्पद बनाएको हो । घटना गहिरोसँग अनुसन्धान गर्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रायजसो अन्य दुर्घटनाहरुमा क्षतिको विवरण प्रहरीले तत्काल प्राप्त गर्छ र बिमाका लागि सिफारिस दिन्छ । यस्तै खालका अरु घटनामा केही समयभित्रै क्षतिको विवरण सार्वजनिक हुन्थ्यो । प्लाजाको आगलागीमा भने के, कति र कसरी यति धेरै क्षति भयो भन्ने पूर्ण विवरण प्रहरीले हालसम्म पाएको छैन । बिमा सिफारिसको निवेदन मात्रै परेपछि प्रहरीले आफ्नै तरिकाले विभिन्न पाटोलाई केलाउँदै अनुसन्धान गरिरहेको छ ।
अर्कोतर्फ बिमा कम्पनीसँग नै प्लाजा सञ्चालकको मिलेमतो रहेको विषय पनि बाहिर आइरहेको छ । ‘कम्पनीसँग मिलेर बिमा सिफारिसका लागि निवेदन दिएको तथ्यहरुबाट पुष्टि हुन्छ । घटनास्थलको वस्तुस्थितिले त्यति धेरै क्षति भएको देखाउँदैन । धेरै भए १ करोड बराबरको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो । अनुसन्धान गर्दा कैफियत देखिए कारबाहीको दायरामा ल्याउने प्रहरीको तयारी छ ।
आगलागी नै कसरी भयो भनेर अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सुरुवातदेखि नै बिमाका लागि लगाइएको विषय चर्चामा थियो । बिहान ९ः१५ बजेतिर सुरु भएको आगलागीको जानकारी नै करिब सय मिटर मात्रै पूर्वमा रहेको प्रहरीलाई २८ मिनेटपछि अर्थात् ९ः४३ बजेतिर गराइएको थियो ।
विभिन्न ठाउँबाट पुगेका दमकल र क्रेनसमेतको सहयोगमा आगो नियन्त्रणमा लिन ६ घण्टाजति लाग्यो । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा स्थानीय आगो नियन्त्रणमा खटिए । भवनमा फसेका ११ जनाको डोरी, भर्याङ र हेलिकोप्टरको सहायताले उद्धार गरिएको थियो ।
व्यवसायी राजेश श्रेष्ठले सञ्चालन गरेको व्यापारिक भवन ‘सेन्ट्रल प्लाजा’को प्रबन्ध निर्देशक उनकै छोरा सिद्धार्थ श्रेष्ठ छन् । श्रेष्ठ विद्युत सर्ट हुँदा आगलागी भएको दाबी गर्छन् । प्लाजाको बिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा गरिएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना ठूलो रकम उल्लेख गरेर बिमा दाबीका लागि सिफारिस मागिएपछि अन्योलमा परिएको बताउँछन् । दाबी गरिएजति क्षति भएको हो कि हैन भनेर अनुसन्धान भइरहेको उनले बताए । प्लाजा सञ्चालकले घटनाको सुरुवातदेखि शंकास्पद व्यवहार देखाउँदै आएको प्रहरीको भनाइ छ ।
एसपी तिम्सिना प्लाजाका सञ्चालकसँग सम्पर्क स्थापित गरेर वास्तविक क्षतिको विवरण बुझ्ने काम भइरहेको बताउँछन् । वास्तविक क्षतिका आधारमा मात्रै बिमाको सिफारिस गरिने उनको भनाइ छ । ‘बजारमा अनेक हिसाबले कुरा आइरहेका छन् । आगलागी पीडितको भूमिका पनि त्यस्तै देखिन्छ । के हो भनेर वास्तविक कुरा बुझ्दैछौं,’ तिम्सिनाले भने ।
प्रबन्ध निर्देशक श्रेष्ठ भने प्लाजाले खटाएका इन्जिनियर र प्राविधिकले तयार पारेको क्षतिको विवरणसहितको ‘रिपोर्ट’ पेस गरेर प्रहरीसँग बिमाको सिफारिस मागिएको बताउँछन् । ‘रिपोर्ट’ बिमाका सर्वेयरलाई पनि बुझाइएको उनको भनाइ छ । आफूहरुले दिएको ‘रिपोर्ट’ अध्ययन गरेर सर्वेयरले बिमा कम्पनीलाई बुझाउने श्रेष्ठले बताए ।
उनका अनुसार आगलागीको क्षतिको मूल्यांकनका लागि सिद्धार्थ इन्स्योरेन्सले भने इन्जिनियर जनार्दन अधिकारीलाई खटाएको छ । ‘हामीले दिएको ‘रिपोर्ट’ उहाँ (इन्जिनियर अधिकारी)ले हेर्दै हुनुहुन्छ । अझै छुटपुट केही हुनसक्छ । समग्र क्षतिको विवरण ‘फाइनल’ हुन बाँकी छ । बिमाका लागि ‘पुलिस रिपोर्ट’ले फरक पर्दैन । सर्वेयरको ‘रिपोर्ट’ अनुसार बिमाबापतको रकम भुक्तानी हुने हो,’ श्रेष्ठले भने ।
आगलागीको हप्ता दिनसम्म के र कसो गर्ने भनेर अलमलमा परिएको उनले सुनाए । भने, ‘सुरुमा अलमलमा परियो । त्यसपछि इन्जिनियर भेला पर्न समय लाग्यो । यति ठूलो मलमा आगलागी भएको घटनाको क्षति यकिन गर्न सानो घर जलेजस्तो हैन । प्रहरीलाई सुरुमा घटनाको जानकारी दियौं । अहिले पूरै विवरण दिइसकेका छौं ।’
बजारमा कसले के हल्ला गर्छन् भन्ने कुराको पछि लाग्न आवश्यक नभएको बताउँदै श्रेष्ठले वास्तविक क्षतिको विवरण प्रहरीको अनुसन्धान र सर्वेयरको ‘रिपोर्ट’ले देखाउने जिकिर गरे । ‘प्रहरीले पनि अनुसन्धान गर्दै होला । उसलाई ‘टेक्निकल’ कुरा थाहा हुँदैन । तर, हामी बिमालाई सबै ‘डकुमेन्ट’ दिन्छौं,’ श्रेष्ठ भन्छन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कोशी प्रमुख ठाकुर उप्रेती कम्पनीबाट खटिएका सर्वेयरले आफ्नो हिसाबबाट काम गरिरहेको बताए । ‘सेन्ट्रर प्लाजाले दिएको विवरणलाई गहिरोसँग अध्ययन गर्ने काम भइरहेको छ । घटना हुनुअघिको ‘स्टक मेन्टेन’देखि ‘अडिट रिपोर्ट’ र क्षति भएको वस्तुको विवरण सबै हेर्नुपर्ने हुन्छ । सबै कुराको ‘लिस्ट’ हेर्दैछौं । भुक्तानीमा समय लाग्छ नै । कति भुक्तानी हुन्छ भनेर अहिल्यै यकिन गर्न सकिँदैन । सर्वेयरले ‘रिपोर्ट’ दिइसकेपछि थाहा हुन्छ,’ उप्रेतीले भने ।
पीडितले वास्तविक क्षतिपूर्ति पाउनुपर्छ भन्ने चाहना रहेको उनले बताए । उप्रेतीले बिमा भुक्तानीका लागि कोहीसँग कुनै मिलेमतो नरहेको बताए । उनका अनुसार ४५ करोडको बिमा गरेको प्लाजाले घटना हुँदा आगोले र आगो नियन्त्रणका क्रममा पानीले समेत क्षति गरेको भनेर विवरण उपलब्ध गराएको छ ।
सरोकारवालामा समन्वयको अभाव : जलिरहयो सेन्टर प्लाजा, आगो नियन्त्रणमा समस्या

























