‘धान सुक्यो रापले, फकाउँछ काफ्ले…’

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेष्ठ १०, शनिबार १६:४१

म फिल्मप्रेमी त होइन, तर कहिलेकाहीँ सिनेमा हल पुग्छु । फिल्म हेर्दा मनमा उब्जिएका भावनाहरूलाई अक्षरमार्फत् समेट्ने प्रयास गर्छु ।

पछिल्लो पटक ‘ऊनको स्वीटर’ हेर्दा परिस्थिति र बाध्यताको पर्खालमा झुण्डिएको प्रेमिल क्यान्भास र त्योसँगै जात व्यवस्थाबारे सोच्न बाध्य बनायो । कथामा हामी मानिसले निर्माण गरेका सामाजिक संरचनाबीचको द्वन्द्वले मन छोयो ।

Advertisement

चलचित्रमा लिम्बू समुदायको परम्परा र संस्कारलाई पनि जोड्न खोजिएको छ ।  प्रेमको धागोले पूर्वी पहाडी जिल्लाको लेक र बेँसीको सम्बन्ध जोड्ने प्रयास गरिएको छ । जात व्यवस्थाको बहुआयामिक संरचनालाई पनि निर्देशकले देखाउन खोजेका छन् ।

यसमा लिम्बू समुदायभित्र बाहुन समुदायले भोगेको थिचोमिचो मात्र होइन, बाहुन समुदायबाट दलित समुदायमाथि हुने भेदभाव र दमनलाई पनि समेटेर जातीय अन्यायको गहिरो स्वरूप उजागर गरिएको छ।

लेकको गुरुङ र बेँसीको काफ्ले बीचको मितेरी सम्बन्ध मार्फत् भूगोल र समुदाय बीचको दूरी मेटाउँदै सामाजिक एकताको सन्देश दिन खाजिएको छ । यति मात्रै होइन, बेँसीको मकै र लेकको आलु साट्ने परम्पराले भौगोलिक विविधता र आर्थिक परनिर्भरतामार्फत् सामाजिक ऐक्यबद्धतालाई निर्देशकले जोड दिएका छन् ।

मकै साट्ने परम्परा केवल आर्थिक विनिमय मात्रै होइन, पात्रहरूबीच सम्बन्ध विकास गर्ने माध्यमसमेत बनेको छ । त्यही मकै साट्न मित बाको घर जाँदा धरणी (विपिन काकी) र फूल (मिरुना मगर) बीच उम्रिएको प्रेम आत्मीय सम्बन्धको एउटा संवेदनशील स्वरूप हो ।

फूलको संवेदनशीलता र हक्कीपनको समायोजनमार्फत् महिला पात्रको गहिराइलाई निर्देशकले उजागर गरेका छन् । फूल मात्र होइन, इच्छा (परिक्ष लिम्बू) को सन्दर्भमा पनि आदिवासी महिलाहरू हक्की र आत्मनिर्णय गर्न सक्ने क्षमता भएका हुन्छन् भन्ने कुरा देखाइएको छ ।

धरणीको भागेर विवाह गर्ने सन्दर्भलाई फूलले ‘विवाह त मागेर गर्ने हो’ भन्ने स्पष्ट अभिव्यक्तिबाट उनी स्वतन्त्र सोच र निर्णयप्रति दृढ पात्रको रूपमा प्रस्तुत हुन्छिन् ।

निर्देशक नवीन चौहानले डम्बर (एलेक्स विश्वकर्मा र इच्छा (परिक्षा लिम्बू) को प्रेम सम्बन्ध र विवाहमार्फत अन्तरजातीय सम्बन्धबारे समाजमा रहेको पूर्वाग्रह र अस्वीकार मानसिकतालाई उजागर गर्न खोजेका छन् ।

डम्बर र मिसेक (सुरज तमु) को मित्रता र पारिवारिक सम्बन्धमा डम्बर–इच्छाको भागी विवाहले ल्याएको फाटोले आपसी विश्वास र सामाजिक सम्बन्धमा असर पारेको देखिन्छ ।

यद्यपि निर्देशकले डम्बर र इच्छाको प्रेम सम्बन्धमा धेरै समय खर्चेका छैनन् । त्यही थोरै दृश्यले सामाजिक संरचना र सोचबारे गम्भीर प्रश्नहरू उठाउँछ । अटो भर्ने चलन, रिलमा फोटो खिच्ने, युगल नृत्यजस्ता प्रसङ्गहरूले दर्शकलाई पुराना दिनहरुमा केहीबेर फर्कन बाध्य बनाउँछ ।

भागेर गएका इच्छा र डम्बर घर फर्किएपछि धरणीले लिम्बू समुदायको संस्कार र परम्परा आत्मसात गर्दै सुँगुरको मासु र रक्सी लिएर ‘चोरको स्वर’ बुझाउन जाँदाको दृश्यले जातीय विविधिता भएको नेपाली समाजमा परस्पर समझदारी, सांस्कृतिक आदानप्रदान र सहअस्तित्वको सन्देश दिन खोजेको छ ।

चलचित्रको प्राविधिक पक्षमा केही कमजोरी भए पनि कलाकारहरूले अभिनयमार्फत् त्यसमा न्याय गरेका छन् । विपिनले जवानीदेखि बुढ्यौलीसम्मको धरणीलाई जीवन्त राखेका छन् । मिरुना मगरले फूल पात्रलाई प्रभावशाली रूपमा प्रस्तुत गरेकी छन् ।

समग्रमा यो फिल्मले एक सामाजिक संरचना र सांस्कृतिक विविधताको चित्रण गर्ने प्रयास गरेको छ, जसले परम्परागत दृष्टिकोणलाई प्रश्न गर्दै सामाजिक समानता र सहअस्तित्वको सन्देश दिन खोजेको छ ।

अन्तरजातीय प्रेमको झल्कोका रूपमा तयार पारिएको यो फिल्मको गीत यतिबेलाको सर्वाधिक चर्चित बनेको छ । धेरैको मुखमा झुण्डिएको गीत बनेको छ । टिकटक लगायत सामाजिक सञ्जालहरूमा यो गीत गाएर अनि नृत्य गरेर भिडियोहरू राख्ने कुरा भाइरल नै बनेको छ ।

गायिका झुमा लिम्बूले यो गीतको पृष्टभूमि, सन्दर्भ र रोमाञ्चकताका बारेमा दर्जनौं अन्तर्वार्ताहरु मार्फत् आफ्ना कुरा सार्वजनिक गरिसकेकी छन् ।

धेरैले सुनिसकेको अनि गुनगुनाइरहेकै गीत हो–

‘धान सुक्यो रापले फकाउँछ काफ्ले…जानु कि नजानु..।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.