
विराटनगर । विराटनगरको भूमि प्रशासन चोकमा एउटा सानो घुम्ती थियो, जहाँ जहागिर हुसेनको पुरानो सिलाई मेसिनले वर्षौंसम्म संघर्ष, पसिना र सपनाहरूलाई सिलाएको थियो । त्यो घुम्ती कुनै सामान्य दृश्य थिएन, बरु जहागिरको २० वर्ष लामो यात्राको साक्षी थियो ।
अहिले त्यो घुम्तीमा उनको पसल छैन तर, सम्झनामा भने रुमलिरहेको हुन्छ ।
जहागिर घरीघरी आफूले व्यवसाय थालेको त्यो ठाउँ हेर्दै विगतका दिनहरू सम्झिन्छन् ।
विराटनगर महानगरपालिका १४ जतुवाका ५० वर्षीय जहागिरका लागि त्यो सानो घुम्ती, सिलाइ मेसिन फलामको थुप्रो मात्र थिएन, जीवनको ढुकढुकी थियो ।
परिवार पाल्ने आधार थियो, अनि नपढेर पनि दुनियाँमा टिक्न सकिन्छ भन्ने विश्वासको आधार पनि थियो । त्यसैले त घुम्ती र सिलाइ मेसिनले बुनेको उनको जीवनको कथा उनका लागि स्वर्णिम छ ।
बाल्यकालमा गरिबीको जालोले उनलाई विद्यालय जानबाट रोक्यो । तर, उनले हार मानेनन् ।
मनमा पढ्ने रहर रहरमै सिमित रह्यो, तर जीवनलाई सार्थकता दिन सीपमुलक तालिम लिए । उनले पुराना कपडाहरूमा नयाँ जीवन भर्न थाले ।
च्यातिएका कपडा टाल्दै, फाटेका लुगा सिउँदै उनले आफ्नो जीवनको तानाबाना बुन्दै गए । एउटा सानो घुम्तीबाट सुरु भएको उनको यात्रा आज तीनवटा मेसिनसहितको व्यवस्थित पसलमा परिणत भएको छ । यो उनको इमानदारिता, लगनशीलता र धैर्यको प्रतिफल थियो । उनी मन्द हाँस्दै सुनाउँछन्,‘गुम्ति त मेरो सबथोक थियो ।’

त्यसो त जहागिरले पुराना कपडा मात्र टालेका थिएनन्, उनले त आफ्ना सन्तानको भविष्य पनि सिउँदै थिए ।
छोराछोरीलाई राम्रो शिक्षा दिनका लागि उनी कयौं रात निदाएनन्, कयौं बिहान भोकै काम गरे । ‘छोराछोरीलाई यही पेसाबाट दुख गरेर पढाए, छोरीको बिवाह गरेँ,’ उनले मुस्कुराउँदै भने, ’अब छोराले आराम गर भनेको छ।’
उद्रिएको पेन्ट सिउँदै गर्दा उनको अनुहारमा सन्तोषको भाव देखिन्थ्यो । उनले आफ्नो लागि आराम गर्ने समय पाएनन्, तर आफ्ना सन्तानको खुसी देख्दा उनलाई कुनै थकान महसुस हुँदैन ।
समय आफ्नो गतिमा हिँड्दै गयो, जहागिरको शरीरले पनि विश्राम माग्न थाल्यो । पहिलेको जस्तो जोस र जाँगर अब रहेन ।
‘पहिले उमेर हुँदा जोस जाँगर थियो, अब त बिरामी भएँ,’ उनको आवाजमा केही नरमाइलो पन थियो ।
शरीरले अब बिस्तारै आराम खोजेको उनलाई महसुस हुन थालेको छ । सानो घुम्तीमा भाडा नतिरी २० वर्ष बिताएका उनले अहिले नयाँ पसलमा ७ हजार रुपैयाँ मासिक भाडा तिर्नुपर्छ ।
व्यवसाय पहिले जस्तो फस्टाएको छैन, तर पनि उनले हिम्मत हारेका छैनन् । दिनमा पुरानो कपडालाई मर्मत गरेर नै कमाइ गर्छन् । यहीँ पैसाले उनको ६ जनाको परिवार चलिरहेको छ ।
उनले सुईको टुप्पोबाट एउटा सामान्य व्यवसाय मात्र चलाएनन्, उनले सम्मानित जीवन पनि जिन्दगीलाई दिए । आर्थिक अभावले पढ्न नपाए पनि, आफ्नो सीप र मिहिनेतले समाजमा स्थान बनाउन सकेकोमा उनी खुसी पनि छन् । उनी भन्छन्, ‘यही चोकमा बस्छु नपढे पनि कपडा सिलाउने मास्टर भएको छु ।’



















