
उदयपुर । हावाहुरीका कारण उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार आइतबार साँझ आएको हावाहुरीले कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक रहेकाे खाजा घरमा सालको रुख ढलेकाे थियाे । रुखले खिच्दा ६४ वर्षीय चौधरीको मृत्यु भएकाे हाे । सो घटनामा ५ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ ।
कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



















