आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १५:४३

काठमाडौं । नेपाल आर्थिक स्वतन्त्रताको सूचकमा १६५ क्षेत्राधिकारमध्ये ९०औँ स्थानमा परेको छ । ‘इकोनोमिक फ्रिडम अफ द वल्र्डः २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल ९०औँ स्थानमा परेको हो ।

क्यानडाको फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल गत वर्षको तुलनामा एक स्थान तल झरेको हो । गत वर्ष नेपाल ८९औँ स्थानमा थियो ।

नेपालले आर्थिक स्वतन्त्रतामा १० मध्ये ६.५९ अंक प्राप्त गरेको छ । वरियतामा एक स्थान घटे पनि नेपालको स्कोर भने कोभिड–१९ महामारीका समयमा भएको गिरावटबाट पूर्ण रूपमा सुधार भएको प्रतिवेदनले जनाएको छ ।

सन् २०२० मा नेपालको आर्थिक स्वतन्त्रताको स्कोर ६.३१ रहेकोमा सन् २०२६ मा बढेर ६.५९ पुगेको छ । सन् २०१९ मा भने नेपालको स्कोर ६.५२ थियो ।

आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो स्थानमा रहेको छ । त्यसपछि स्विट्जरल्यान्ड, सिङ्गापुर, न्युजिल्यान्ड, अमेरिका, आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया र मौरिसस रहेका छन्। शीर्ष १० को अन्तिम स्थानमा फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायत समान वरीयतामा छन् ।

सबैभन्दा कमजोर प्रदर्शन गर्ने देशमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार, लिबिया, सुडान, जिम्बाब्वे र भेनेजुएला छन् । भेनेजुएला अन्तिम स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×