विराटनगरमा अपराध अनुसन्धान गोष्ठी : ‘ग्रे लिस्ट’ र अन्तर्राष्ट्रिय आतंकवादको चर्चा

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ फाल्गुन १२, सोमबार २०:०१

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा नेपाल ‘ग्रे लिस्ट’मा परेको विषयमा व्यापक चर्चा र छलफल भएको छ ।

साथै, अन्तर्राष्ट्रिय आतंकवादको विषयसमेत जोडतोडका साथ उठेको छ । न्यायकर्ता (न्यायाधीश), अभियोजनकर्ता (सरकारी वकिल) र अनुसन्धानकर्ता (प्रहरी)को उपस्थिति रहेको गोष्ठीमा ‘ग्रे लिस्ट’ र अन्तर्राष्ट्रिय आतंकवादको विषयले प्रवेश पाएको हो । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)को ‘ग्रे लिष्ट’ मा परेको छ ।

Advertisement

नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको छ । तर, संरचनागत र व्यावहारिक सुधारमा कमजोरी देखियो । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा अनुसन्धान एवं अभियोजन निकै फितलो भएकाले पनि नेपाल ‘ग्रे लिष्ट’मा परेको निष्कर्ष गोष्ठीबाट निकालिएको छ ।

मुलुकलाई उक्त लिष्टबाट बाहिर ल्याउन अनुसन्धानकर्ता र अभियोजनकर्ताको तर्फबाट खेल्नुपर्ने भूमिकालगायतका विषयमा व्यापक चर्चा एवं छलफल भएर निष्कर्ष निकालिएको प्रहरीका १ अधिकारीले बताए । उनका अनुसार मुलुकमा आर्थिक अपराध उच्च भएकाले पनि नेपाल ‘ग्रे लिष्ट’मा परेको ठहर गरिएको छ ।

मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउन बैंकिङ कसुर, राजस्व छली, हुण्डी कारोबार, मानव बेचबिखन, लागुऔषध, वातावरणीय अपराध (वन्यजन्तुको चोरी तस्करीलगायत), क्रिप्टो करेन्सीको कारोबार, सहकारी ठगीजस्ता मुद्दाको अनुसन्धान र अभियोजनलाई प्रभावकारी एवं व्यवस्थित बनाउनुपर्ने ठहर गोष्ठीको छ । विभिन्न अपराधको अनुसन्धान एवं अभियोजनमा थप केन्द्रित हुनुपर्ने निष्कर्ष निकालिएको छ ।

अन्तर्राष्ट्रिय आतंकवादीसम्बन्धी क्रियाकलापको अनुसन्धानमा पनि विशेष ध्यान दिनुपर्ने ठहर गोष्ठीको छ । ‘आतंकवादी क्रियाकलाप र त्यसमा वित्तीय लगानीको अनुसन्धान प्रहरीले गर्ने हो । त्यो विषयको सूक्ष्म अनुसन्धान गर्दै नेपालमा आतंकवादको जोखिम छ कि छैन भनेर विश्लेषण गर्नुपर्ने देखियो । आतंकवादी समूहका गतिविधि भएमा अनुसन्धानको दायरामा ल्याएर गहन ढंगले अभियोजन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । अर्थात् मुलुकमा आतंकवादसम्बन्धी कुनै गतिविधि हुन भएन भन्ने नै हो,’ प्रहरी उच्च स्रोतले भन्यो ।

गोष्ठीमा उपस्थित प्रहरी अधिकारीहरुले मुलुकभित्र आतंकवादीका कुनै गतिविधि हुन नहुनेमा जोड दिएका छन् । आतंकवादीको ‘मुभमेन्ट’ र त्यसलाई प्रसय दिने खालका आर्थिक कारोबार रोक्न विशेष ढंगले अघि बढ्नुपर्नेमा प्रहरी अधिकारीहरु सहमत छन् ।

‘विभिन्न जोखिमको विश्लेषण गर्दै अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउनुपर्ने ठहर गरिएको छ । क्षेत्रगत जोखिम मूल्यांकन गर्दै उच्च जोखिमयुक्त सम्बद्ध कसुरको अनुसन्धान र अभियोजनमा प्रभावकारिता ल्याउनुपर्छ भन्ने हो । अर्कोतर्फ प्रहरीले हेर्ने मुद्दामध्ये कुनमा जोखिम बढी छ र कुन मुद्दाको प्रभाव धेरै छ ? भन्ने विश्लेषण आवश्यक देखियो,’ प्रहरीका १ अधिकारी भन्छन् ।

उनका अनुसार उच्च जोखिमयुक्त सम्बद्ध कसुरको अनुसन्धान र अभियोजनमा प्रभावकारिता ल्याएर मुद्दा अनुसन्धानको संख्या बढाउनुपर्नेमा प्रहरी अधिकारीहरुको जोड छ । ‘अपराध अनुसन्धानमा अभिवृद्धि गरेर प्रभावकारी हिसाबले काम गर्न सकिएमा मात्रै जिम्मेवारी पूरा हुन्छभन्ने गोष्ठीको निष्कर्ष हो,’ ती प्रहरी अधिकारी भन्छन्, ‘कुन मुद्दामा जोखिम बढी छ र कुन मुद्दाको प्रभाव धेरै छ ? भनेर विश्लेषण गर्नुपर्ने अवस्था देखियो ।’

जोखिम बढी देखिएका अपराधमा सम्पत्ति शुद्धीकरणको तत्व खोज्नु पर्ने ठहर पनि गोष्ठीले गरेको छ । नेपाल प्रहरीले हेर्ने मुद्दाको विश्लेषण गरेर राष्ट्रिय जोखिम मूल्यांकनमा ध्यान दिनुपर्नेमा गोष्ठीको जोड छ ।

साथै, गोष्ठीले क्यासिनो, सुनचाँदी व्यवसाय तथा घर जग्गा व्यवसायीमाथि अनुगमन एवं निगरानी कमजोर भएको निष्कर्ष निकालेको छ । ‘आर्थिक कारोबार बढी हुने क्षेत्रमा ‘मनिटरिङ’ निकै कमजोर भयो । अनुसन्धान र अभियोजनमा पनि समस्या देखियो । त्यसलाई सुधार गरेर अघि बढ्नुपर्ने सुझाव गोष्ठीबाट प्राप्त भएको छ,’ प्रहरीका ती अधिकारीले भने ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजना र प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वयमा भएको गोष्ठीको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरेका थिए । अपराध अनुसन्धान विभागका प्रमुख एवं एआईजी कुवेर कडायतले अनुसन्धानलाई समय सापेक्ष बनाउने विषयमा गोष्ठी केन्द्रित भएको बताए ।

नेपालाई ‘ग्रे लिस्ट’बाट निकाल्न आर्थिक अपराधसँग जोडिएका मुद्दाको तथ्यपरक अनुसन्धान र अभियोजन तथा अन्तर्राष्ट्रिय आतंकवादजस्ता समस्याको उचित निराकरण गर्नुपर्ने सुझाव गोष्ठीबाट प्राप्त भएको उनको भनाइ छ । मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउन अनुसन्धानकर्ता र अभियोजनकर्ताको भूमिका महत्वपूर्ण हुने एआईजी कडायतले बताए ।

गोष्ठीमा न्यायाधीश, प्रहरी अधिकारी, प्रदेशका विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु, मुद्दा चल्ने प्रहरी युनिटका अनुसन्धान अधिकारी तथा अभियोजनकर्ता सरकारी वकिलहरु उपस्थित थिए । अनुसन्धान अधिकारीहरुले जिल्ला र युनिटहरुमा जनशक्ति कम हुँदा मुद्दाको अनुसन्धानमा समस्या भइरहेको तथा राजनैतिक दबाब झेल्नु परिरहेको लगायतका विभिन्न आन्तरिक गुनासो गरेका छन् ।

पछिल्लो समय कोशी प्रदेशमा बेवारिसे गाँजा र मानव कंकालको समस्या जटिल बनेर गएको विषयमा पनि अधिकारीहरुबीच छलफल भएको छ । अपराधको अनुसन्धान तथ्यपरक हुनुपर्नेमा सबैको समान धारणा छ । अनुसन्धान सही नहुँदा न्याय निरुपणमा असर पर्ने र न्याय प्राप्त गर्न नसकिने उनीहरुको भनाइ छ ।

गोष्ठीका सहभागीले अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा एवं कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन सकेमा मात्रै अपेक्षित नतिजा प्राप्त हुने बताए । तथ्यमा आधारित अनुसन्धानले मात्रै अपराधको गहिराइमा पुग्न सकिने र न्याय निरुपणमा जटिलता पैदा नहुने निष्कर्ष गोष्ठीबाट निकालिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले बताए ।

उनका अनुसार गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा केन्द्र, प्रदेश र जिल्लागत हिसाबले प्रस्तुतिहरु भएको थियो । अभियोजनकर्ताले पनि प्रस्तुति दिएका थिए । ‘अनुसन्धानको असल एवं सबल पक्षका बारेमा छलफल गर्दै गोष्ठीमा थप सूचना र सीपहरु आदानप्रदान भएका छन्,’ डीआईजी अधिकारीले भने, ‘अनुसन्धान अधिकृतको क्षमता अभिवृद्धि र अनुसन्धानमा देखिएका समस्या समाधान गर्ने उद्देश्य गोष्ठीको हो ।’

विराटनगरमा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.