
नाइजेरिया। मध्य नाइजेरियाको पठार राज्यस्थित एक गाउँमा बन्दुकधारी समूहले गरेको भीषण आक्रमणमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। स्थानीय विकास सङ्गठनका अनुसार शुक्रबार भएको यस आक्रमणमा १२ जना सुरक्षाकर्मी र आठ जना सर्वसाधारण मारिएका छन्।
नियमित गस्तीमा रहेका सैनिक टोलीमाथि ‘डाकू’ समूहले अचानक गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको थियो। आफ्नो गाउँ बचाउन पुगेका स्थानीय बासिन्दा पनि सोही क्रममा मारिएका हुन्। आक्रमणकारीहरूले सुरक्षाकर्मीमाथि हमला गरेपछि गाउँमा छिरेर गाईवस्तु र अन्य सम्पत्ति समेत लुटेर फरार भएको कानम डेभलपमेन्ट एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश नाइजेरिया यतिबेला बहुआयामिक सुरक्षा सङ्कटसँग जुधिरहेको छ। एकातिर कट्टरपन्थी इस्लामवादी समूहको विद्रोह र अर्कोतर्फ फिरौतीका लागि हुने सामूहिक अपहरण तथा लुटपाटले ग्रामीण बस्तीहरू त्रासमा रहेका छन्। सेनाले सशस्त्र समूहविरुद्ध कारबाही तीव्र बनाए पनि यस्ता आपराधिक गिरोहका कारण सुरक्षा चुनौती अझै जटिल बनिरहेको छ।



















