
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रस्ताव गरिएका सम्भावित युद्धविरामका सर्तहरू पर्याप्त नभएको बताएका छन् । शनिबार एक अन्तर्वार्ताका क्रममा उनले इरान सम्झौताका लागि इच्छुक देखिए पनि हालका सर्तहरू आफूलाई स्वीकार्य नभएको स्पष्ट पारे । आगामी सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेमा उनले जोड दिएका छन् ।
ट्रम्पले युद्धविरामका लागि इरानले आफ्नो आणविक कार्यक्रमसम्बन्धी महत्त्वाकांक्षा पूर्ण रूपमा त्याग्नुपर्ने प्रतिबद्धतालाई मुख्य सर्त बनाउन सक्ने सङ्केत गरे । यद्यपि, उनले आफ्ना सबै सर्तहरूको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेको करिब दुई हप्तापछि राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो । ती आक्रमणका कारण विश्वव्यापी जहाज आवागमनमा अवरोध हुनुका साथै तेलको मूल्यमा वृद्धि भई विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।
युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा विश्व ऊर्जा बजार र आर्थिक क्षेत्रमा यसको प्रभाव थप चुनौतीपूर्ण बन्दै गएको छ । ट्रम्पले युद्धबाट प्रभावित देशहरूलाई हर्मुज जलडमरू सुरक्षित र खुला राख्न सहयोगका लागि आग्रह समेत गरे । केही देशहरूले उक्त मार्गको सुरक्षाका लागि प्रतिबद्धता जनाए पनि उनले ती राष्ट्रहरूको नाम खुलाउन चाहेनन् ।
सामाजिक सञ्जालमार्फत पनि ट्रम्पले जलडमरू मार्ग प्रयोग गरी तेल आयात गर्ने देशहरूलाई यसको सुरक्षामा विशेष ध्यान दिन आह्वान गरेका छन् । उनले उक्त मार्गलाई अवरोधरहित बनाउन धेरै देशहरूले युद्धपोत पठाउने सम्भावना रहेको समेत उल्लेख गरे ।



















