विराटनगरको विकासमा नेतृत्वदायी भूमिका खोज्दै पुरी

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १३:२४

विराटनगर । शिक्षाकर्मी तथा व्यवसायी टीकाराम पुरीले विराटनगर महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका उनले विराटनगरलाई आधुनिक, सुन्दर र समृद्ध सहरका रूपमा विकास गर्ने योजना आफूसँग रहेको दाबी गरेका छन् ।

‘हिमालय मातृभूमि फाउन्डेसन’ का अध्यक्षसमेत रहेका पुरीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धिका लागि देशभर अभियान सञ्चालन गर्दै आएका छन् । उनले अहिलेसम्म उम्मेदवारी औपचारिक रूपमा घोषणा भने गरेका छैनन् । तर, विराटनगरको नेतृत्वमा पुगेर सहरको विकासमा काम गर्ने चाहना रहेको बताएका छन् ।

‘विराटनगरलाई आधुनिक सहरका रूपमा विकास गर्न मन छ,’ पुरीले भने, ‘दृढ इच्छाशक्ति र दीर्घकालीन सोचका साथ काम गर्ने हो भने यसलाई सुन्दर र समृद्ध महानगर बनाउन सकिन्छ ।’

कुनै समय नेपालको दोस्रो ठूलो सहरका रूपमा चिनिएको विराटनगर अहिले अपेक्षाअनुसार विकास हुन नसकेको उनको बुझाइ छ । विगतका नेतृत्वले सहरको ऐतिहासिक पहिचान र सम्भावनाअनुसार काम गर्न नसकेको बताउँदै उनले अब योजनाबद्ध विकासमा जोड दिनुपर्ने बताए ।

पुरीका अनुसार महानगरको विकासका लागि पाँच वर्षे स्पष्ट योजना आवश्यक छ । पहिलो वर्षदेखि नै प्राथमिकता निर्धारण गरेर अघि बढ्ने, उपलब्ध स्रोतको पहिचान गर्ने र त्यसको उचित परिचालन गर्न सके विराटनगरको स्वरूप बदल्न सकिन्छ । ‘चुनाव जितेपछि पाँच वर्ष बितिहाल्छ भन्ने सोचले हुँदैन । लक्ष्य बनाएर काम गर्नुपर्छ । स्रोतको पहिचान र परिचालन गर्न सके असम्भव केही छैन,’ उनले भने ।

मेयरमा उम्मेदवारी दिए कुन राजनीतिक दलबाट दिने भन्नेबारे भने उनले खुलाएका छैनन् । कुनै दलसँग छलफल नभएको बताउँदै पुरीले समय आएपछि यसबारे जानकारी दिने बताए । उनी यसअघि नेकपा एमालेनिकट रहेर कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा थिए । पार्टीले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै केही समयअघि उनले एमाले छाडेका थिए । त्यसैले उनको उम्मेदवारी कुन दलबाट वा स्वतन्त्र रूपमा आउँछ भन्नेबारे अहिले नै स्पष्ट भइसकेको छैन ।

२०२३ वैशाख १ गते संखुवासभाको खाँदबारी–७ माल्टा खिप्रिङमा जन्मिएका पुरी विराटनगर–५ का स्थायी बासिन्दा हुन् । एसएलसी उत्तीर्ण गरेपछि २०४२ सालमा उच्च शिक्षा अध्ययनका लागि विराटनगर आएका उनले पढाइसँगै शिक्षण पेसा सुरु गरेका थिए । केही समय शिक्षण गरेपछि उनी विद्यालय सञ्चालनमा लागे ।

अहिले उनी एभरेष्ट सेकेन्डरी स्कुल र एभरेष्ट कलेज सञ्चालन गरिरहेका छन् । शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारका कारण एभरेष्ट देशका स्थापित निजी शैक्षिक संस्थामध्येमा गनिन्छ । विद्यालयको प्रिन्सिपलका रूपमा समेत काम गर्दै आएका पुरी शिक्षा क्षेत्रसँगै व्यवस्थापनमा पनि परिचित छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मा पनि उनले लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । २०५४ सालमा प्याब्सन मोरङको जिल्ला सदस्य बनेका उनी दुई कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्ष भए । त्यसपछि दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष बने ।

प्याब्सनको केन्द्रीय नेतृत्वमा पुग्ने उपत्यकाबाहिरका पहिलो व्यक्ति बनेका पुरीले आफ्नो कार्यकालमा निजी विद्यालयका पक्षमा नीतिगत पैरवी, संगठनको व्यवस्थापन र पूर्वाधार विकासमा काम गरेको निजी विद्यालय सञ्चालकहरू बताउँछन् । काठमाडौंको तीनकुनेमा तीनतले भवन खरिद गरी प्याब्सनको संस्थागत व्यवस्थापनमा योगदान गरेको विषयलाई पनि उनको कार्यकालको उपलब्धिका रूपमा लिने गरिएको छ । निजी विद्यालयमैत्री कानुन निर्माण र कोभिड महामारीका बेला उनले खेलेको भूमिका पनि विद्यालय सञ्चालकहरूले स्मरण गर्ने गरेका छन् ।

पुरीको व्यावसायिक सक्रियता शिक्षामा मात्रै सीमित छैन । उनले कृषि फार्म पनि सञ्चालन गर्दै आएका छन् । मोरङमै विद्युतीय गाडी उत्पादन गर्ने उद्योग सञ्चालनको तयारीसमेत गरिरहेका छन् । यसका लागि चिनियाँ कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको उनले बताएका छन् ।

उमेर पुगेका हरेक नेपालीले रोजगारी वा उत्पादनमूलक काममा जोडिन पाउनुपर्ने उनको धारणा छ । युवालाई उत्पादनसँग जोड्ने वातावरण बनाउनु राज्यको दायित्व भएको बताउँदै उनले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले यसमा जिम्मेवारी लिनुपर्ने बताउने गरेका छन् ।

शिक्षा, संगठन व्यवस्थापन र व्यवसायमा हासिल गरेको अनुभवलाई अब महानगरको नेतृत्वमा उपयोग गर्ने चाहना रहेको पुरीको भनाइ छ । तर, उनको उम्मेदवारी र त्यसको राजनीतिक आधार भने आगामी दिनमा हुने निर्णय र छलफलले तय गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.