
विराटनगर । मोरङको जहदाबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित चार जना पक्राउ परेका छन् ।
जहदा गाउँपालिका–४ सिसौबारीस्थित मानिस नबस्ने जीर्ण घरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मझारेबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार दिउँसो करिब ३ः२० बजेतिर उक्त घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरको कोठाभित्र शंकास्पद अवस्थामा रहेका चार जनालाई चेकजाँच गर्दा उनीहरूको साथबाट ७ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । पक्राउ पर्नेमा जहदा गाउँपालिका–३ जयरामपुरका २४ वर्षीय मन्जितकुमार यादव तथा कटहरी गाउँपालिका–३ कामत टोलका २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन् ।
प्रहरीले बरामद लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ । उनीहरूमाथि लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























