
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको हाइस दुर्घटनामा चालकको अत्यधिक थकान र क्षमताभन्दा बढी यात्रु बोकिएको तथ्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार दुर्घटनाग्रस्त हाइसका चालक रविशंकर कुमार मण्डलले पछिल्लो ४८ घण्टा ४५ मिनेटमा ३३ घण्टा ४५ मिनेट लगातार सवारी चलाएका थिए।
प्रतिवेदनअनुसार चालकले उक्त अवधिमा एकाध घण्टा मात्र विश्राम गरेका थिए। दुर्घटनाअघि काठमाडौं आइपुगेपछि पनि उनले एक घण्टा मात्र आराम गरेर बिहान २ बजे २० जना यात्रुसहित मलंगवातर्फ यात्रा सुरु गरेका थिए। त्यसको तीन घण्टा ४५ मिनेटपछि बिहान ५ः४५ बजे चिसापानी गढीमा हाइस दुर्घटनामा परेको थियो।
११ जना यात्रु क्षमताको हाइसमा चालकसहित २० जना सवार रहेको पाइएको छ। लामो समयसम्म निरन्तर सवारी चलाउँदा उत्पन्न शारीरिक तथा मानसिक थकानले चालकको एकाग्रता र तत्काल निर्णय गर्ने क्षमतामा असर पारेको हुन सक्ने समितिको निष्कर्ष छ। यद्यपि चालक निदाएको वा अचेत भएको पुष्टि भने भएको छैन।
समितिले प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै घुम्तीमा गाडीले सडकको मोडअनुसार दिशा परिवर्तन नगरी सडक छाडेर जंगलतर्फ गएको उल्लेख गरेको छ। दुर्घटनाका बेला विपरीत दिशाबाट अर्को सवारी नआएको र गाडीको बत्ती बलिरहेको पनि प्रतिवेदनमा उल्लेख छ। हाइस भिरबाट खसेर ब्रेक, स्टेयरिङलगायतका प्रणाली पूर्ण रूपमा क्षतिग्रस्त भएकाले विस्तृत प्राविधिक परीक्षण गर्न नसकिएको समितिले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि समितिले चालकको कार्यअवधि र विश्रामको स्पष्ट मापदण्ड बनाउन, लामो दूरीमा वैकल्पिक चालकको व्यवस्था गर्न तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीधनी र सञ्चालकलाई समेत जिम्मेवार बनाउन सुझाव दिएको छ। त्यस्तै, जोखिमयुक्त सडकमा सुरक्षा बार र चेतावनी संकेत राख्न तथा चालकको थकान निगरानी गर्ने प्रविधि लागू गर्न सिफारिस गरिएको छ।
गत कात्तिक २६ गते भएको उक्त दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। मृतकमध्ये चालकबाहेक सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका बासिन्दा थिए। दुर्घटनामा एउटै परिवारका छ जनाले समेत ज्यान गुमाएका थिए।

























