
एजेन्सी । इराकको राजधानी बगदादस्थित बगदाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको अमेरिकी सैन्य अड्डामा रकेट आक्रमण भएको छ ।
इराकी सशस्त्र समूह सराया अवलिया अल–दामले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । समूहले आफ्नै टेलिग्राम च्यानलमार्फत अमेरिकी सैनिकलाई लक्षित गरी रकेट प्रहार गरिएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रारम्भिक विवरणअनुसार आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् । इराकी सुरक्षा अधिकारीहरूका अनुसार केही रकेट विमानस्थल आसपासका क्षेत्रमा खसेका थिए । त्यसमध्ये केही रकेट नजिकै रहेको पानी प्रशोधन केन्द्रमा पनि खसेको बताइएको छ ।
आक्रमणपछि एक स्थानमा ठूलो आगलागीसमेत भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणपछि सुरक्षा सतर्कता बढाइएको छ ।
घटनाको विस्तृत विवरण संकलन भइरहेको इराकी अधिकारीहरूले जनाएका छन् । अमेरिकी सैन्य अड्डालाई लक्षित गरी पछिल्ला वर्षहरूमा इराकमा बेलाबेलामा यस्ता रकेट आक्रमण हुने गरेका छन् ।



















