
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा एक जना महिलाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४० बजेतिर ५१ वर्षीया रूपा लिम्बूमाथि धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तेह्रथुम प्रहरीका इन्स्पेक्टर खेमबहादुर खत्रीका अनुसार घटनामा संलग्न रहेको आरोप ३८ वर्षीय कृष्णबहादुर लिम्बूमाथि लागेको छ । घटना लगत्तै उनी फरार भएका छन् ।
आरोपितको खोजीका लागि प्रहरी परिचालन गरिएको इन्स्पेक्टर खत्रीले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



















